बैतडीको सिगास गाउँपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकाशन गर्ने

बैतडी – बैतडीको सिगास गाउँपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्ने भएको छ ।

कोरोनाभाईरसका कारण भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्न नसक्ने भएकाले आन्तरिक मूल्याकंनबाट परीक्षार्थीहरुको अन्तिम नतिजा प्रकाशनको तयारी भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । जेठ मसान्तभित्र कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गरिसक्न विद्यालयहरुलाई निर्देशन दिइएको उनले बताए ।

विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरिने र विद्यार्थीहरुको यसअघि लिएको परीक्षाको नतिजालाई आधार बनाएर परीक्षाफल प्रकाशन गरिने छ । कक्षा ८ को परीक्षाको परीक्षाफल पनि आन्तरिक मूल्यांकनकै आधारमा गरेर प्रकाशन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए ।

कोरोना भाईरसको महामारीका कारण विद्यालय बन्द रहेकाले परीक्षाफल विद्यार्थी र अभिभावकहरुलाई फोन अथवा एसएमएसबाट जानकारी गराउन आग्रह गरिएको छ ।

याे पनि हेर्नुस्
Loading...