४ अनलाइन कालोसूचीमा, जनता टाइम्सदेखि सेतोपाटी सम्मलाई काउन्सिलले काट्यो पत्र

१० असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काटेको छ भने इहिमालय टाइम्स, वीरगञ्ज सिटी, एनआरएन खबर र कोशीपाटीलाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ ।

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टस नेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको हाे । काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबिच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैब्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन/प्रकाशन/प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पुर्‍याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ।

याे पनि हेर्नुस्
Loading...