असार १४ पछि सार्वजनिक यातायात सञ्चालनमा स्थानीय प्रशासन सकारात्मक

१२ असार, काठमाडौं । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन्।

असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।

मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित छ, हामी क्रमिक ढंगले अघि बड्दै गएको छौ यातायात सञ्चालनका विषयमा सकारात्मक छलफल शुरु भएको छ, उहाँले भन्नुभयो ।

विहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरु विच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा व्यवसायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरुको सुझाव छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

याे पनि हेर्नुस्
Loading...