दक्षिणाको महत्त्व : पैसा दिने चलन कहिलेबाट सुरु भयो ?

पैसाको चलन थिएन : प्रा.डा. माधव भट्टराई

मेरो जन्म खोटाङमा भएको हो, मुखियाको घर भएकाले हाम्रो टीका लगाउन आउनेहरूले कोसेली स्वरूप केही न केही लिएर आउँथे । तर बजारबाट किनेर होइन, स्थानीय स्तरमै उत्पादन हुने फलफूल वा तरकारी लिएर आउँथे । त्यतिबेला प्रायले केरा वा अन्य फलफूल ल्याउँथे । कोहीले नास्पाती ल्याउँथे, केही नभए ईस्कुस वा आलु पनि ल्याउँथे । दक्षिणास्वरुप पैसा दिने चलन थिएन, मेरो अनुभवमा २०३० सालपछि यस्तो संस्कृति मौलाएको हुनुपर्छ । सुरुमा हामीले पनि अरूले पैसा दिँदा नलिने र आफूले पनि नदिने गरेको हो ।

तर, बिस्तारै पैसा दिने प्रथा चल्यो, अब रोक्न सकिँदैन । अब त मैले पनि अन्त जाँदा पैसा राख्नुपर्ने भयो । म कहाँ आउनेले पनि पैसा राख्नुपर्ने अनिवार्यजस्तै भयो । हुँदा–हुँदा फलानोले हजार दियो, फलानोले ५० रुपैयाँ दियो भन्ने चर्चा गर्ने समय पनि थियो । दक्षिणाको यस्तो देखासिकी र अस्वस्थ प्रतिस्पर्धा रोक्न खाममा राखेर पैसा दिने चलन भित्रिएको होला । खाममा राखेपछि कसले कति दियो भन्ने थाहा हुँदैन । मेरो विचारमा गुरु, पुरोहित र छोरी–चेलीलाई आफ्नो गच्छेले भ्याएको दिने हो । देखासिकी गर्ने होइन । उनीहरूले यति देऊ भन्दैनन् । स्वेच्छाले दिने हो । अहिलेको हास्य व्यङ्ग्य र नाटकहरूमा हाम्रो संस्कृतिलाई उडाउने काम भएको छ । ‘यति दक्षिणा नदिए ससुराली जान्न…, म जस्तो ज्वाइँलाई १० हजार दक्षिण दिनुपर्छ..’ भन्ने खालका भद्दा संवादहरू प्रयोग भएको देख्छु । हास्य व्यङ्ग्यका नाममा प्रयोग गरिने यस्ता संवादले हाम्रो सांस्कृतिक महत्त्वमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

दक्षिणा दिएर पाप नष्ट हुँदैन : पद्मधराचार्य, महन्त, श्री बैंकटेश्वर मन्दिर

दक्षिणा र यज्ञ एक आपसमा जोडिएर आउँछ । यज्ञ भनेको कार्यक्रम र दक्षिणा भनेको पूर्ति हो । त्रेता युगमा अष्टमीदेखि रामचन्द्रले यज्ञ गर्नुभएको थियो । जति बेला उहाँले सीताजीलाई छाडिसक्नुभएको थियो । तर यज्ञ गर्दा त पति–पत्नी चाहियो । त्यसपछि सीताजीको सुनको प्रतिमा बनाएर रामले यज्ञ गर्नुभयो । त्यो दक्षिणा हो । दक्षिणा अथाह प्रेम हो । प्रेमको पराकाष्ठा हो । दिऊ–दिऊ लाग्ने गर्दछ ।

तर यसको अर्थ देखासिकीमा दक्षिणा दिनु राम्रो होइन । जसरी घर बेचेर छोरीको बिहे गर्नु, बेहुलाले दाइजो माग्नु गलत छ । त्यसरी नै दक्षिणा दिनेले गच्छेभन्दा धेरै दिन खोज्नु र माग्नेले पनि बार्गेनिङ गर्नु गलत छ । आफू सकिएर राखेको इज्जतलाई इज्जत भनिन्न । त्यो सकेपछि त सडकमा आउनुपर्छ नि । अहिले मानिसहरूले पाप गरेर पैसा कमाउन थाले । कतिपय नेताहरूले भ्रष्टाचार गरेर पैसा कमाए । कतिपयलाई दक्षिणा र दान धेरै गरेपछि पाप काट्छ भन्ने पनि लागेको छ, त्यस्तो होइन गल्तीको सजाय त भोली भोग्नै पर्छ । नचाहिने काम गरेर कमाएको सम्पत्ति दिँदा मुक्ति मिल्दैन । तर, इमानदारीसाथ कमाएको सम्पत्तिबाट खुसीसाथ केही दक्षिणा दिइयो भने वृद्धि हुन्छ । चार वेदमध्ये अथर्ववेदमा दक्षिणाका विषयमा पनि चर्चा गरिएको छ । पुरोहित, गुरु, मान्यजन आदीलाई दक्षिणा दिनु भनेको कर तिरेजस्तै हो । जस्तो ः मानिसले आफूले कमाएअनुसार राज्यलाई कर तिर्छन् नि । धेरै कमाउनेले धेरै कर बुझाउँछन्, कम कमाउनेले कम । दक्षिणा पनि त्यसरी नै गच्छेअनुसार दिने हो ।

पण्डितले टीका लगाइदिएपछि कसैले असर्फी दिन्छन्, कसैले १ सय रुपैयाँ त कसैले ५ रुपैयाँ दिन्छन् । पण्डितले आशीर्वाद दिन्छन् र आशीर्वादमा शक्ति हुन्छ । यसरी, उदारभावले दिएको दक्षिणाले प्रेम बढ्छ । तर, अनुदार भएर दिइएको वा देखासिकीमा दिइएको दक्षिणाले नरकमा पु¥याउँछ । दाजु–भाइमध्ये दाइले धेरै कमायो भने धेरै दक्षिणा देला । भाइले पनि त्यसको सिको गर्नुपर्छ भन्ने होइन । आफ्नो स्ट्यान्ड अनुसार चल्नुपर्छ । आफ्ना सन्तानलाई पनि गच्छेअनुसार चल्न र अनावश्यक फुर्ती नगर्न शिक्षा दिनुपर्छ । त्यसपछि बिस्तारै यो परम्परा बनेर जान्छ । सोच र ज्ञानको अभावले हामीहरू आफैँ दुख भएका छौँ । सोच बदल्नुपर्छ ।

सद्भावको चाड हो, दक्षिणाको होइन : प्रा.डा. जगमान गुरुङ

दक्षिणा काल सुहाउँदो हुनुपर्छ । मान्यजनलाई उपहार दिने हो । मान्यजनले आशीर्वाद दिने हो । दसैँ सद्भावको पर्व हो, दक्षिणको होइन । देखासिकीका कारण अहिले धेरै–धेरै दक्षिणा दिने प्रचलन पनि बढेको छ । सक्नेले गर्दा पनि भयो, तर नसक्नेले देखासिकी गरेर हुँदैन । फजुल खर्च गरेर आडम्बर प्रदर्शन गर्दा संस्कृति विकृत हुन्छ । हाम्रा चाडपर्वप्रति नकारात्मक भाव बढ्दै जान्छ । यस्ता कुरामा हामी संयमित हुनुपर्छ । सुहाउँदो गरी दक्षिणा आदान–प्रदान गर्नुपर्छ ।

 

याे पनि हेर्नुस्
Loading...