जिन्दगी नजिकबाट हेर्दा दुःख हो तर टाढाबाट हेर्दा कमेडी : चार्ली चाप्लिन

सन् १८९४ तिरको कुरा हो, हाना चाप्लिन गीत गाउन मञ्चमा उक्लिइन्। त्यो दिन गीत गाउँदा गाउँदै हानाको आवाज रोकियो। पैसा तिरेर गीत सुन्न आएका दर्शकलाई हानाले किन गाउन सकिनन् भन्ने मतलबको विषय थिएन। उनीहरू चिच्याउन थाले, गाली गर्न थाले, मञ्चमा जुत्ताचप्पल बर्साउन थाले।

गीत गाएरै जीविकोपार्जन गर्ने हानाका लागि मञ्चमा गएर गाउन नसक्नु सामान्य कुरा थिएन। दर्शकको ताली पाइरहेकी उनलाई गाली गर्नु र जुत्ताचप्पल फ्याँकिनुले धेरै पर पुर्‍यायो। दर्शक रुष्ट हुनु भनेको त्यसपछिका दिनमा काम पाउन गाह्रो हुनु पनि थियो।

काम नपाउनु भनेको आम्दानीको स्रोत बन्द हुनु थियो। अनि पैसा नहुनु भनेको आफू र आफूमा आश्रित परिवारका सदस्यको जीवन कष्टकर हुनु पनि थियो।

यस्तै सोचेर मञ्चमा उभिइरहेकी हानालाई ५ वर्षका छोरा चार्लीले एउटा कुनामा बसेर हेरिरहेका थिए। आमालाई त्यस्तो अवस्थामा देखेर चार्लीलाई असह्य भयो। उनी केही नसोची सरासर मञ्चमा गए। आमाको छेउमा उभिए र आमाले गाइरहेको गीत आफ्नो कलिलो आवाजमा गाउन थाले।

चार्ली मञ्चमा गएपछि जुत्ताचप्पलको वर्षा बन्द भयो। उनले गाउन सुरु गरेपछि दर्शक चुप लागेर सुन्न र हेर्न थाले। दर्शक/श्रोतालाई त्यो रमाइलो लाग्न थाल्यो। त्यसपछि मञ्चमा जुत्ताका साटो सिक्का बर्सिन थाले। त्यो घटनाले चार्लीलाई बुझायो- आफ्नो दुःख, पीडा दर्शक/श्रोताका लागि भने मनोरञ्जनको विषय बन्न सक्दो रहेछ।​

चार्लीका हाँस्ने कारण

सन् १८८९ अप्रिल १६ मा बेलायतको लण्डनमा जन्मेका चार्लीलाई सानैदेखि अभिनेता बन्ने रहर थियो। उनी स्कुल जान्थे तर पढाइमा मनै लाग्दैनथ्यो। सानै उमेरदेखि उनले मञ्चमा कार्यक्रम गर्न थाले। उनी नबोलेरै धेरै कुरा भन्थे।

गरिबीलाई नजिकबाट नियालेका उनले हरेक प्रस्तुतिमा नबोलीकन आफैंले देखेभोगेका कथा प्रस्तुत गर्थे। उनको प्रस्तुतिमा मानिस खुब हाँस्थे अनि आफ्नो दुःखमा मान्छेहरू हाँसेको देखेर उनी मनमनै हाँस्थे। उनले त्यसपछि हाँसो र रुवाइ भनेको के रहेछ भन्ने कुरा बुझे।

एउटाको दुःखको कारण अर्कोको हाँसोको कारण पनि बन्न सक्दो रहेछ भन्ने उनले बुझे। उनलाई आफूले भोगिरहेको जीवन बाहिरबाट हेर्दा कमेडी देखिँदो रहेछ जस्तो लाग्यो। त्यसैले आफ्ना सबै दुःख कमेडीबाट देखाउन थाले। उनी दुःखी हुने र रुनुपर्ने थुप्रै कारण थिए।

आफ्नो परिवार आर्थिक रूपमा बलियो नहुनु त थियो नै साथै घरमा बाबुआमाको बेमेल, स-साना कुरामा झगडा, बुवाआमाको सम्बन्धविच्छेद, छुट्टिएर आमासँग अनाथालयको वास, आमाको मानसिक सन्तुलन गुम्नु, सरकारले बुवालाई आफ्नो जिम्मा दिनु अनि सौतेनीआमाले दुर्व्यवहार गर्नुजस्ता घटनाले उनको बाल मस्तिष्कमा दीर्घकालीन असर पारेको थियो। उनी ती सबै कुरा मञ्चमा देखाउँथे अनि सबैलाई हसाउँथे।

महत्त्वपूर्ण घुम्ती

एकपटक चार्लीले मञ्चमा प्रस्तुति दिइरहेका वेला एकजना निर्देशकको आँखा उनमा पर्‍यो। उनले चार्लीमा भएको असामान्य क्षमता त्यतिवेलै थाहा पाए। तिनै निर्देशकको मद्दतमा उनको भेट इ हेमल्टनसँग भयो‚ जो त्यो वेलाका चर्चित नाट्यनिर्देशक थिए।

उनले चार्लीलाई सेर्लक होम्स नाट्य सिरिजमा अभिनय गर्न प्रस्ताव गरे। त्यसपछि विस्तारै चार्ली आफूले चाहेको जस्तो जीवन देख्न थाले। सेर्लक होम्स सिरिजमा अभिनय गरेर उनले आफूलाई अझै निखारे र उनलाई चिन्ने सानो समूह पनि बन्यो।

उनले फिल्ममा आफ्नो करिअर सुरु गर्ने वेला पहिलो विश्वयुद्ध हुने संकेत देखिइरहेको थियो। सिंगो विश्व नै दुःखपीडामा डुबेको थियो। मान्छेसँग रुने कारण धेरै थिए तर हाँस्ने कारण थिएन। त्यस्तोमा चार्लीको मेकिङ अ लिभिङ प्रदर्शनमा आयो। एकातिर ठूलठूला देश युद्धमा होमिएका थिए। युद्धकै कारण हरेक दिन हजारौँ मानिसको मृत्यु हुने गर्थ्यो।

अर्कोतिर चार्लीका लगातार अ थिफ क्याचर, हिज न्यु जब, वन एएम, इजी स्ट्रिट, द एडभान्चर, सिटी लाइट्स, द सर्कस, मोडर्न टाइमजस्ता फिल्म आउन थालेका थिए। पहिलो विश्वयुद्ध सकिएर दुई दशकपछि अर्को विश्वयुद्ध सुरु भएर सकिँदासम्म पनि यो शृंखला चलिरह्यो। उनका फिल्म धेरैका लागि औषधि सावित भए।

चार्ली भन्ने गर्थे

अरूलाई हसाउने चार्ली भन्ने गर्थे, ‘मलाई पानी परिरहेका वेला हिँड्न मन पर्छ, ता कि कोही मलाई रोइरहेको नदेखोस्।‘

उनका धेरै भनाइ अहिले पनि चर्चित छन्। जस्तै,

बिनाहाँसोको दिन खेर गएको दिन हो।
हामी साह्रै धेरै सोच्छौँ र अति थोरै महसुस गर्छौँ।

हामी सबै एकअर्कालाई साथ र सहयोग गर्न रुचाउँछौँ। मानिसको स्वभावै यस्तो छ कि हामी एकअर्काको सुखमा बाँच्न चाहन्छौँ तर दुःखमा होइन।

जिन्दगी नजिकबाट हेर्दा दुःख हो तर टाढाबाट हेर्दा कमेडी।
यो दुष्ट दुनियाँमा केही पनि स्थायी छैन, हाम्रा समस्या पनि।
तिमी तल हेरेर कहिल्यै पनि इन्द्रेणी देख्न सक्दैनौँ।
व्यवहारमा उतारिन्न भने कल्पना केही पनि होइन।

सन् १९७७ को क्रिसमसमा दिन ८८ वर्षको उमेरमा उनको निधन भयो। राति निदाइरहँदा उनलाई हृदयाघात भएको थियो। उनले सपना र बिपनाकै दोसाँधमा आफ्नो प्राण छोडे।

उनी आज पनि करोडौँ मानिसका मनमा बसेका छन्। आज पनि कैयौँ कलाकारले उनलाई आफ्नो आदर्श मान्ने गर्छन्। आज पनि मानिसहरू खुशी हुनका लागि उनका फिल्म हेर्छन्।

सन् १९९५ मा द गार्जियन पत्रिकाले गरेको एउटा सर्वेक्षणमा सबैभन्दा मन पर्ने अभिनेता को हो? भनेर सोधिएको थियो। अधिकांशको जवाफ थियो- चार्ली अर्थात् चार्ली चाप्लिन।

याे पनि हेर्नुस्
Loading...