यो सरकार घरको बाघ, बनको स्याल हो, यसको आयु बढीमा १५ महिना- केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताएका छन्।

ओलीले १५ महिनापछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दावी समेत गरे। राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै उनले पार्टीका युवाहरुलाई निर्वाचनको तयारीमा जुटन आह्वान गरे।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भने ‘अहिलेको सरकार शास्वत होइन। यो सरकार अलिक दिनको मेजमान, पाहुना! बलजफ्ती आएको पाहुना, थोपरिएको पाहुना, षडयन्त्रबाट जन्मेको पाहुना। अवैध सम्बन्धहरुको उपज पाहुना।’

यो सरकारलाई विदा गर्न हतारिनु पर्ने कारण नरहेको उनले बताए। उनले भने ‘अर्को मंसिरसम्ममा चुनाव गर्नुपर्छ, कति रह्यो विचार गर्नुस त। भदौ गइगो, असोज, कात्तिक, मंसिर। अब १४ महिना रह्यो। अब १५ महिनामा त यो सरकारलाई खोजेर पनि भेटिदैन।’

news center of article

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसिसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौति दिनेगरी उर्दी जारी नगर्न सचेत गराए। ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदा समेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने ‘वर्तमान सरकार घरको बाघ, बनको स्याल हो। अब त सोझै संविधानलाई चुनौति दिएर उर्दी जारी गर्ने गर्‍याछ, बोल्न पाइँदैन, अहिले नबोल्न निर्देशन दिइन्छ, अब बोले कारबाही गरिन्छ भनेर थर्काइन्छ। म भन्न चाहन्छु–शासन दमनकारी हुन पाउँदैन।’

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौति दिए। उनले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दावी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताए।

उनले भने ‘जतिजति चुनाव नजिक आउँछ, त्यतित्यति एमाले प्रवेशको लहर चल्दै जान्छ। म किरणलाई भन्न चाहन्छु, महेशलाई भन्न चाहन्छु, टोपीहरु सिलाई राख्नुस्। लाखौंलाख टोपीहरु सिलाई राख्नुस तर यस्तो सानो होइन, ठूल्ठूला पनि। तोडदा नतोडिने, फोडदा नफोडिने एमाले बनाउनेछौँ।’

याे पनि हेर्नुस्
Loading...