यसकारण लोप हुँदै कोदो खेती

कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बालीले ढाकिएका छन् । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइन्छ ।

तीन दशकअघिसम्म धनुषाको ग्रामीण क्षेत्र विशेषगरी ढल्केवर, वटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायत दर्जनौं गाउँका अधिकांश कृषकले कोदो खेती गर्दथें ।

तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरु बताउँछन् । कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको छ ।

कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ ।

पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् । अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले धनुषाको सीमित गाउँमा मात्र यसको खेती गरिन्छ ।

रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ ।

“पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ”, मिथिला नगरपालिका–६ ढल्केवरका कृषक दानबहादुर खड्काले भने, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढ्नै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।”

वटेश्वरका कृषक रामप्रसाद भण्डारीले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी खोजी खान थालिएको बताए। “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उनले भने, “अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको छ ।”

धान, गहुँ र मकैजस्तै कोदोलाई कृषकले महत्व नदिएका कारण लोप हुँदै गएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाको भनाइ छ । उनका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुन सकेको छैन ।

कोदोको माग धेरै भएपनि खेती गर्ने कृषक नभएपछि माग अनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको मिथिला नगरपालिका पुष्पवलपुरका कृषक गङ्गा महतोले बताए ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको क्षीरेश्वरनाथ नगरपालिका— ८ दिगम्बरपुरका किसान राजेश महतोको भनाइ छ ।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए ममता बलम्पाकीले बताए ।

उनले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताए । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

दुई दशक अघिसम्म गाउँका सबै खेतबारीमा कोदो हुन्थ्यो तर, आजभोलि सबै हराए पुष्पवलपुरका कृषक श्याम गोलेले खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको बताए ।

उनले भने, “कोदो खेतीभन्दा पनि कृषकले हिजोआज बाख्रापालन, तरकारीलगायत नगदेबाली, फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।”

पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँमा धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० भन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो ।

वटेश्वर गाउँपालिका ५ शान्तिपुरका कृषक अमर बहादुर थिङ्गले पहिलेपहिले ५ मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताए ।

“धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो । अहिले त कोदो लगाउने जमीन बाँझिन थालेको छ”, उनले भने ।

“कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिब खानाको रुपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन थियो”, क्षीरेश्वरनाथ नगपालिका— ३ पकडियाका कृषक रामनारायण सिंहले भन्नुभयोे, “बजारमा पनि यसको मूल्य अन्य अन्नको तुलनामा न्यून छ । त्यसैले आजभोलि यो बाली लगाउने किसानको सङ्ख्या न्यून हुँदै गएको छ ।”

कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरु यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ । त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ । उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन ।

परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ ।

कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका वरिष्ठ अहेव अशोक साहले कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको बताए उनले भने, ‘कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।’

कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुनेहुँदा लामो समय नखाँदा पनि हुन्छ । यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ ।

कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मद्दत पुग्छ ।

कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रुपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रुपमा लिइन्छ ।

कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।-रासस

याे पनि हेर्नुस्
Loading...