बाँदरमुढे बम विस्फोटको १६ वर्ष, घटनाका पीडित अझैसम्म न्यायको पर्खाइमा

काठमाडौं – माओवादी जनयुद्धका क्रममा भएको बाँदरमुढे बम विस्फोटको १६ वर्ष पुरा भएको छ ।

चितवनको माडीस्थित बाँदरमुढेमा २०६२ जेठ २३ गते माओवादी कार्यकर्ताहरूले सर्वसाधारण नागरिक चढेको सार्वजनिक बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए । १६ वर्षअघि भएको घटनाका पीडितहरूले सरकारले सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन् ।

घटनालगत्तै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति क्षमायाचना गर्दै सार्वजनिक माफी मागेका थिए ।उनले घटनाको अनुसन्धान गर्ने तथा संलग्न रहेका व्यक्तिलाई दण्ड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दाहालले चितवन भ्रमणको क्रममा पटकपटक पीडितहरूलाई क्षतिपूर्तिका अन्य उपायसहित स्वास्थ्योपचार तथा रोजगारीको अवसर उपलब्ध गराउने प्रतिज्ञा गर्दै आएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

यसैबीच जवाफदेहिता निगरानी समिति र एड्भोकेसी फोरम–नेपालले बाँदरमुढे घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको गम्भीर उल्लंघन भएको दावी गरेको छ ।

यो द्वन्द्वका दौरान कुनै पनि सर्वसाधारणलाई हानी गर्न नहुने मानवीय कानूनको आधारभूत प्रावधानविपरीतको घटना भएको उसको भनाइ छ।

याे पनि हेर्नुस्
Loading...