माछा मार्न जाँदा गोहीको आक्रमणबाट एकको मृत्यु

चन्द्र बिष्ट/हेटौंडा – राप्ती नदी किनारमा एकजना मृत फेला परेका छन् ।

सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । ‘हामीले बुझ्दा उनी राति नै माछा मार्न गएको पत्ता लागेको छ । शरीरको दाग र अन्य घाउ चोटले उनी मगर गोहीको आक्रमणमा परेको देखिन्छ,’ उनले भने ।

निकुञ्ज भएर बग्ने कुनै पनि खोलामा यो बेला माछा मार्न पाइदैन । निकुञ्जबाट अनुमतिपत्र नलिएकाहरुले सिमाना भएर बग्ने खोला र नदीमा माछा मार्न पाउँदैनन् । अनुमति लिएकाहरुलाई पनि चैत्रपछि असारसम्म माछा मार्न बन्देज छ । यी तीन महिना माछाको प्रजनन् र भुरा हुर्काउने समय भएका कारण माछा मार्न सबैलाई रोक लाग्ने गरेको उनले बताए । यो नियम पालना गर्न र निषेधाज्ञा लागेको समयमा अनावश्यक रुपमा निकुञ्ज र नदी तथा खोलामा नजान निकुञ्जले अपिल गरेको छ ।

तर अटेर गरेर जंगल जाने र माछा मार्ने क्रम बढेको छ । च्याउ टिप्न निकुञ्ज गएका बेला वैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो ।

सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार यो आर्थिक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ ।  जसमध्ये हात्ती, बाघ र गैंडाले आक्रमण गर्दा तीन/तीनजनाको निधन भएको हो । गौरी गाइ, बँदेल र मगर गोहीले आक्रमण गर्दा एक/एकजनाको ज्यान गएको उनको भनाइ छ ।

याे पनि हेर्नुस्
Loading...