७ लाख नगद र गाँजासहित ६ जना पक्राउ

६ असार, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १८ केजी गाँजा, ७ लाख नगद तथा सवारी साधनसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ ५ बजे विराटनगर महानगरपालिका–५ बरगाछीबाट तीन भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला समोल पन्चायत फार्बिजगन्ज थाना बस्ने १९ वर्षीय सोनुकुमार यादव, भारतकै अररिया पिर्पाघाट पन्चायत विशनपुर बस्ने २८ वर्षीय जयराम यादव, अररियाकै नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार, सुनसरी देवानगन्ज गाउँपालिका–१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका–१३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई रहेका छन् ।

शुक्रबार बरगाछी चोकस्थत सडक खण्डमा प्रहरी सुरक्षा चेकजाँचको क्रममा तीन भारतीय नागरिकसहित उमेश र रुद्रको साथबाट ७ सात १६ हनार ६०० रुपैयाँ र दुई हजार भारुलगायत विभिन्न कम्पनीको मोबायल थान–६ समेत बरामद भएको थियो ।

अनुसन्धान गर्दा लागु औषध गाँजा विक्री वितरण गर्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति सोही दिन साँझ ६ बजे विराटनगर–६ रामपुरस्थित झाँडीमा लुकाइएको अवस्थामा अन्दाजी १८ केजी गाँजा बरामद गरेको थियो ।

उनीहरूले गाँजा ओसारपसारमा को१च २४१२ नं मारुती भेन प्रयोग गरेको खुलाएपछि प्रहरीले चालक सूर्यलाई शनिबार बिहान ६ बजे विराटनगर–१ तीनपैनीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...