सेफ्टी ट्यांकीभित्र निसासिएर दुईको मृत्यु

संखुवासभाको खाँदबारी नगरपलिका– ४ सेकाहामा सेफ्टी ट्यांकीमा निसासिएर बेहोस भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । शौचालयको नयाँ सेफ्टी ट्यांकीभित्रको ढलानको सटिङ खोल्ने क्रममा ट्यांकीभित्र छिरेका खाँदबारी– ४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय तारावीर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले बताए ।

स्थानीय नरेश गुरुङले बनाएको नयाँ घरको सेफ्टिी ट्यांकीभित्रको ढलानको सटिङ खोल्न भनेर सुरुमा ईश्वर ट्यांकीभित्र पसेका थिए । उनी भित्र बेहोस भएको देखेपछि सहकर्मी तारावीर ट्यांकीभित्र पस्दा उनीसमेत बेहोस भएका थिए । त्यसपछि स्थानीयले ट्यांकी फुटाएर दुवैजनालाई बाहिर निकालेका थिए । तत्काल जिल्ला अस्पताल खाँदबारी ल्याइए पनि त्यसको केही समयपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक कविन राईको टोली पुगेको छ । दुवैको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । सोमबार पोस्टमार्टम रिपोर्ट र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि आफन्तलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । नयाँपत्रिकाबाट

याे पनि हेर्नुस्
Loading...