बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुग्यो, तीन हजार २५८ जना विस्थापित

काठमाडौं : अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मनसुनजन्य घटनामा परी यो अवधिमा १३ पुरुष, चार महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको हो । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालीकोट, बझाङ, पाँचथर र बाजुरामा एकरएकजनाले ज्यान गुमाएका हुन् ।

बाढी–पहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच, म्याग्दी र डोटीमा तीनरतीन, जुम्ला र कास्कीमा दुईरदुई, स्याङ्जा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा एकरएकजना रहेका छन् ।

बाढी–पहिरोमा परी २१ जना बेपत्ता छन् । तीमध्ये १४ पुरुष, पाँच महिला र दुई बालक छन् । सिन्धुपाल्चोकमा २० र बाजुरामा एकजना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बाढी–पहिरोमा परेका ८०६ जनाको उद्धार गरिएको छ । तीमध्ये मनाङमा ६५६, सिन्धुपाल्चोकमा १२३, सल्यान र लमजुङमा आठरआठ, दाङ र गोरखामा चाररचार र कञ्चनपुरमा तीनजना रहेका छन् । उद्धारपछि उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जनाइएको छ ।

यो अवधिमा बाढीका कारण देशभर २१० वटा घर डुबानमा परेका छन् । २०६ वटा घर, १२ गोठ, १८ पुल, तीनवटा विद्यालय र आठ सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४८ वटा घरका तीन हजार २५८ जना मानिस विस्थापित भएका छन् । ६३० वटा पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...