चाइना मोबाइलले नेपालमा १ अर्ब डलर लगानीमा मोबाइल डाटा नेटवर्क बनाउने

कोरोना महामारीका कारण अतिकम विकसित मुलुकहरुमा सूचना प्रविधिको क्षेत्रमा हुने अन्तराष्ट्रि परियोजनामा हुने लगानी नकारात्मक भएको छ । हालै सार्वजनिक संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सभा (अङ्कट्याड) ले सोमबार सार्वजनिक गरेको विश्व लगानी प्रतिवेदन २०२१ अनुसार नेपालसहितका अति कम विकसित मुलुकहरुमा सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी शतप्रतिशत नकारात्मक भएको देखिएको हो ।

सो प्रतिवेदनमा उल्लेख भएको तथ्यांकअनुसार सन् २०१९ मा ग्रीनफिल्ड लगानीअन्तरगत ०.३ अर्ब डलर लगानी भएकोमा सो बढेर सन् २०२० मा १.९ अर्ब डलर पुगेको थियो । सो समयमा महामारीको असर नदेखिएपनि अन्तराष्ट्रिय परियोजना फाइनान्समा भने शतप्रतिशत नकारात्मक लगानी भएको देखिएको छ ।
सो तथ्यांकअनुसार सन् २०१९ मा त्यस्तो अन्तराष्ट्रिय परियोजना फाइनान्सअन्तरगत २.१ अर्ब डलर लगानी भएकोमा सन् २०२० मा सो लगानी शुन्य रहेको छ । यसमा कोभिड महामारीले शतप्रतिशत असर पारेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबिच सूचना प्रविधिको क्षेत्रमा चाइना मोबाइलले १ अर्ब डलरको मोबाइल डाटा नेटवर्क बनाउन नेपालमा लगानी शुरु गरिसहेको बताईएको छ । तर सो लगानी कहाँ र कसरी भएको भन्ने कुनै जानकारी छैन् ।

त्यसैगरि विश्वभर कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्र थला परेपछि त्यसको प्रत्यक्ष असर नेपाल भित्रिने विदेशी लगानीमा परेको छ । जसको परिणामस्वरूप सन् २०२० मा नेपालको विदेशी लगानी ३२ प्रतिशतले खुम्चिएर १४ अर्ब ७४ करोड रुपियाँमा सीमित भएको छ ।

विश्व लगानी प्रतिवेदन २०२१ अनुसार अन्य आर्थिक गतिविधिसँग पनि जोडिएको पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी लगानी प्रभावित भएको हो । प्रतिवेदनअनुसार सन् २०१९ मा भने नेपालले उच्च विदेशी लगानी प्राप्त गरेको थियो । उक्त वर्ष नेपालले २१ अर्ब ६४ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो ।

पछिल्ला पाँच वर्षमध्ये सन् २०१७ मा ऐतिहासिक रूपमै उच्च अर्थात् २३ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । सन् २०१८ मा विदेशी लगानी व्यापक घटेर ७ अर्ब ८३ करोड रुपियाँमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० सबैभन्दा धेरै भारतले ६४ अर्ब डलर विदेशी लगानी भित्र्याएको छ । त्यसपछि बङ्गलादेशले दुई अर्ब ५६ करोड, पाकिस्तानले दुई अर्ब १० करोड, श्रीलङ्काले ४३ करोड, माल्दिभ्सले ३४ करोड डलर लगानी भित्र्याएका छन् ।

अफगानिस्तानले केवल एक करोड ३० लाख डलर मात्र लगानी भित्र्याएको प्रतिवेदनमा उलेख छ । दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम भुटानमा ३० लाख डलर मात्र विदेशी लगानी भित्रिएको छ ।

भारतबाहेक अन्य सबै दक्षिण एसियाली मुलुकको सन् २०२० मा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको तुलनामा घटेको छ ।

याे पनि हेर्नुस्
Loading...