युरोकप: आज समूह डीका दुई खेल हुँदै

काठमाडौं– जारी युरोकप फुटबलमा आज (मंगलबार) समूह चरणका दुई खेल हुँदै छन्।आज राति समूह ’डी’को खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्दै छन्। दुवै खेल नेपाली समय अनुसार राति १२: ४५ बजे सुरु हुनेछ।

वेम्बली स्टेडियममा हुने खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ। यसअघि २ खेलबाट ४ अंक जोडेको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ।

इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउनेछ। पराजित भएमा भने अन्य टिमको नतिजामा निर्भर रहनु पर्नेछ ।

पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।

चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ। चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ। बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ ।

पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

हाम्पडेन पार्कमा हुने खेलमा क्रोएसिया र स्कटल्याण्ड दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन्।

यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसियाले दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा खेलेको थियो।

स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ। पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो।

याे पनि हेर्नुस्
Loading...