काठमाडौं। संसारमा गगनचुम्बी भवनहरुको कुनै कमी छैन । बुर्ज खलिफा दुबई संसारको सबैभन्दा अग्लो भवन हो जुन ८२९.८ मिटर अर्थात् २७२२ फिट अग्लो छ । दुबई पुग्ने जो कोही मानिसहरुका लागि यो भवन आकर्षणको केन्द्र हो ।
बुर्ज खलिफालाई चुनौति दिने अर्को भवन तथा विश्वमा अझै कतैपनि बनेको छैन । तर बुर्ज खलिफापछि संसारको दोश्रो अग्लो भवन हुनका लागि चाहीँ तिव्र प्रतिस्पर्धा चलिरहेको छ । यसैक्रममा संसारको दोश्रो अग्लो भवन मलेसियामा बनेको छ ।
हाल निर्माणाधीन अवस्थामा रहेको उक्त भवन यो वर्षको अन्त्यसम्ममा तयार हुने बताइएको छ । यो मलेसियाली भवनले चीनमा रहेको सांघाई टावरलाई पछि पार्नेछ । यसअघिसम्म संसारको दोश्रो अग्लो भवनको रुपमा रहेको सांघाई टावरको उचाइँ २०७३ फिट छ जुन अब तेश्रो नम्बरमा झरेको छ ।
मलेसियामा निर्माणाधीन संसारको दोश्रो अग्लो भवनको नाम Merdeka ११८ हो । क्वालालाम्पुरमा रहेको यो भवनको उचाइँ २२ सय २७ फिट अर्थात् ६७८.९ मिटर रहेको छ र यसमा १ सय १८ वटा तल्ला हुनेछन् । यो भवनको डिजाइन अस्ट्रेलियन कम्पनी फेन्डर काटसालिडिसले गरेको हो । स्मरण रहोस् बुर्ज खलिफाको डिजाइनर एड्रियन स्मिथले गरेका हुन् भने सांघाई टावरको डिजाइन गेन्स्लर कम्पनीले गरेको हो ।
यो भवनको नाम Merdeka एक इण्डोनेसियाली तथा मलाय भाषाको शव्द हो, जसको अर्थ स्वतन्त्रता भन्ने हुन्छ । यो भवनमा एकसाथ ३ हजार मानिस प्रवेश गर्न सक्दछन । स्लिक डिजाइनमा रहेको यो भवनमा काँचका क्रिकोणीय प्यानल लगाइएको छ । उक्त आकारले मलेसियाको परम्परागत कला तथा क्राफ्टलाई दर्शाउँछ ।
३१ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको यो भवनको आधा हिस्सा कार्यालयहरुलाई भाडामा दिइनेछ । यसभित्र मल, मस्जिद, पार्क तथा होटल समेत हुनेछ । साथै यसमा दक्षिण पूर्वी एसियाको सबैभन्दा अग्लो नीरिक्षण डेक पनि हुनेछ ।
यो भवनको डिजाइनले मलेसियाली स्वतन्त्रता नायक अब्दुल रहमानको त्यस छवीलाई उजागर गर्नेछ जसले हात उठाएर मर्डेका भनेका थिए । रहमानले सन् १९५७ मा मलेसियालाई स्वतन्त्र घोषणा गरेका थिए । एजेन्सी