यी हुन् सल्यानमा पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला

१४ वर्षको उमेरमा ८ कक्षा पढ्दा पढ्दै सीताले भागी बिहे गरिन्। २८ वर्षअघिको समाजमा बुहारी भैसकेपछि विद्यालय जानु मुस्किल थियो। मान्छेहरूले राम्रो मान्दैनथे। उनी घरधन्दामा फसिन्, पढाइमा ब्रेक लाग्यो।

तत्कालीन लेखपोखरा गाविसको काफ्रेचौर उनको घरमा राजनीतिका कुरा भइरहन्थे। नेता-कार्यकर्ताको आउजाउ चलिरहन्थ्यो। उनका बुवा तुलसीराम भण्डारी कांग्रेसको राजनीति गर्थे। सीतालाई उनलाई पढ्न, अघि बढ्न, बोल्न सक्ने हुनुपर्छ भन्ने चेत भने थियो

उनले बिहे गरेर गएको घरमा पढ्ने वातावरण नै थिएन। घरधन्दा गर्दागर्दै केही वर्षमा छोराछोरी जन्मिए उनीहरूलाई हुर्काउनमै उनी व्यस्त भइन्।

जब छोराछोरी अलिक ठूला भए घरको काममा सघाउन सक्ने भए सीतालाई फेरि पढ्ने हुटहुटी जागिरह्यो।

पढाइ छोडेको १६ वर्षपछि फेरि उनी कक्षा आठमा भर्ना भएर विद्यालय जान थालिन्।

स्थानीय दमाचौर माविबाट २०६४ सालमा एलएलसी उत्तीर्ण गरिन्। कक्षा ११ सम्म पास गरिन्। छोराछोरी ठूलो कक्षामा उक्लिँदै गए। उनीहरूलाई पढाउन खर्चको जोहो गर्न कठिन हुन थाल्यो। घरको आर्थिक अवस्था गाह्रो भएकाले उनले फेरि पढ्न छोड्नुपर्‍यो।

श्रीमान् नेपबहादुर वैदेशिक रोजगारीमा गएपछि घर व्यवहार चलाउने सम्पूर्ण भार सीताको काँधमा थियो।

उनी घर चलाएरमात्र बस्दिनथिन्। समाजमा पनि निस्किन्थिन्।

घरको कामबाट फुर्सद् निकालेर समाजमा हुने सानातिना छलफलमा सक्रिय रूपमा सहभागी हुन थालेकी थिइन्। महिलामाथि हुने थिचोमिचोविरूद्ध बोल्थिन्।

सानैमा स्कुल पढ्दै उनी राजनीतिक गतिविधिमा संलग्न हुन्थिन्। त्यसबेलै उनको मनमा राजनीति गरे ठूलो मान्छे भइन्छ भन्ने परेको थियो। त्यही मनभित्रको प्रभावकै कारण उनी बिस्तारै नेपाली कांग्रेसको राजनीतिमा पनि लागिन्।

उनको नेतृत्वदायी भूमिकाका कारण नेपाली कांग्रेसको १३औं महाधिवेशनका क्रममा तत्कालीन दमाचौर गाविसको क्षेत्रीय प्रतिनिधिमा सीताको नाम सर्वसम्मत रूपमा पठाउन सबै राजी भए।

त्यसले सीताको मनोबल बढ्यो। सीता जिल्ला समिति सदस्यमा भिडिन्। निर्वाचित भइन्। त्यसपछि सीताले दाङ, सुर्खेत, काठमाडौंलगायत विभिन्न ठाउँका बैठकमा जाने अवसर पाइन्। ती बैठकमा उनले धेरै कुराहरू जान्ने मौका पाइन्।

‘म महिलाले घर छोड्नु हुन्न, बिग्रन्छन् भन्ने परिवेसमा हुर्किएकी थिएँ,’ सीताले भनिन्, ‘पार्टी भित्रका अग्रज नेता र महिला नेतृलाई सुनेपछि महिला अगाडि बढ्नु पर्छ भन्ने थप हौसला मिलेको हो।’

सीताको आत्मविश्वास र क्रियाशीलता देखेर २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई छत्रेश्वरी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनायो।

स्थानीय निर्वाचनका क्रममा सीताका श्रीमान नेपबहादुर रोजगारीका सिलसिलामा विदेशमै थिए। श्रीमानले पनि चुनाव लड्न सल्लाह दिएका थिए।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी बुद्ध केसी र माओवादी केन्द्रकी राधा शर्मा थिए। सीताले निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार भन्दा झन्डै एक सय मतले पराजित गर्न सफल भइन्। पालिकाको उपप्रमुख बन्न सफल भएपछि सीतालाई राजनीतिमा लागिरहने हौसला बढ्यो। यसमा आफ्नो उडान भर्नुपर्छ भन्ने आत्मविश्वास पनि बढेर गयो।

सीताले यसपालि कांग्रेसको १४औं महाधिवेशनका क्रममा आफ्नो गाउँपालिकाको सभापतिमा उम्मेदवारी घोषणा गरिन्। सीतालाई आफ्ना बुवा र परिवारले पनि सहयोग गरे।

अन्तजस्तै छत्रेश्वरीमा पनि पार्टीका दुई गुटहरू थिए। सीताले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको लाइनबाट सभापतिमा उम्मेदवारी घोषणा गरेकी थिइन्।

जिल्लामा उनलाई केशबहादुर बिष्ट लगायतका नेताहरूको साथ समर्थन थियो।

बरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट टेकबहादुर बिष्टको टिमले सभापतिमा उम्मेदवारी घोषणा गरे। उनलाई पूर्व पार्टी सभापति ध्रुव पुरीलगायका नेताहरूको साथ समर्थन थियो।

सीताले बिष्टलाई फोन गरी आफू जिल्लामा एकमात्रै महिला नेतृत्व लिन तम्सिएको हुँदा छोडिदिन आग्रह गरिन्। सर्वसम्मत नेतृत्व चुन्नको लागि पहल गरिन्। बिष्ट त्यसका लागि तयार भएनन्।

अनन्तः असोज ९ गते निर्वाचन सुरू भयो । सीताले ६१ मत ल्याएर जित हात पारिन्। बिष्टले ४२ ल्याए।

‘मलाई श्रीमान, छोरा बुहारी, बुवा र छर-छिमेकका दिदी बहिनीहरूले सधैँभरि हौसला प्रदान गर्दै आउनु भएको छ,’ सीताले भनिन्, ‘घर परिवारको साथ र सहयोगबिना मेरो यो सफलता सम्भव हुँदैन थियो।’

यो जित उनको लागि राजनीतिक जीवनको एउटा खुड्किलो हो। उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने सोचिसकेकी छन्।

‘मैले उपाध्यक्ष भएर चार वर्षको अनुभव सँगालीसकें,’ सीताले भनिन् ‘फिल्डमा खटिएर काम गर्दै जाँदा त्यतिकै आत्मविश्वास र हौसला बढ्दो रहेछ। अब म अध्यक्षको जिम्मेवारी ढुक्कले सम्हाल्न सक्छु भन्ने विश्वास पैदा भएको छ।’

कांग्रेसको गाउँ सभापति जितेर घर फर्केपछि श्रीमानले गाउँपालिकाको अध्यक्ष बन्नु भनेर शुभकामना दिएको उनले बताइन्।

सीता गाउँपालिकाको उपप्रमुख भएपछि श्रीमान नेपबहादुर घर गृहस्थी सम्हाल्न भनेर घरमा बस्दै आएका छन्।

‘मेरो दुबै छोरी सुनिता र सृजनाको बिहे भइसकेको छ। ठूलो छोराले पनि बिहे गरिसकेको छ,’ सीताले भनिन्, ‘कान्छो छोरा र बुहारी भने पढ्दै छन्। जेठो छोरा पनि काममा भएपछि श्रीमान घर गृहस्थी सम्हालेर बस्नु भएको छ।’

महिलाले चाहेमा गर्न नसक्ने केही रहेन छ भन्ने विश्वास आफूमा पैदा भएको सीताले बताइन्।

‘महिलाका पीडा महिलाले मात्रै बुझ्न सक्छन्,’ उनले भनिन्, ‘महिलाहरू पनि आफ्नो क्षमता अनुसार हौसलाको उडान भर्न तयार हुनुपर्ने रहेछ।’

सल्यानजस्तो विकट र पहाडी जिल्लाको पनि सबैभन्दा बिकट बस्ती भनेर चिनिन्छ छत्रेश्वरी। उनले यहाँ समस्यामा परेका धेरै महिलाका पीडामा आफूले व्यक्तिगत रूपमा भए पनि मल्हम लगाउन प्रयास गर्दै आएको बताइन्।

‘पहाडका महिलाका दुःख कथा कहिल्यै भनेर सकिँदैनन्,’ उनले भनिन्, ‘भीर पाखामा घाँस दाउरा गर्नु, खाने पानीका लागि घन्टौं गाग्री बोकेर हिँड्नु यी त सामान्य समस्या हुन्। म अध्यक्ष भएपछि ती पीडा कम गर्न प्रयास गर्नेछु।’

उनले महिला सशक्तिकरण साथै महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र आय आर्जनको बाटोमा लगाउन जरूरी रहेको बताइन्।

‘हिजो उठेर आफ्नो परिचय दिन पनि नसक्ने दिदी बहिनीहरू आज माइकमा बोल्न सक्ने हुनुभएको छ,’ सीताले भनिन्, ‘अब महिलालाई क्षमता अनुसारका अवसर सिर्जना गर्न जरूरी छ। व्यवसायिक कृषि, पशुपालन, उद्योग व्यवसायमा आकर्षित गर्न आवश्यक छ। महिला आत्मनिर्भर नभई समाज बदलिन्न।’

त्यस्तै उनले हालै पार्टी भित्रको नेतृत्व चुन्न भएको आन्तरिक चुनावलाई लोकतन्त्रको एक सुन्दर पक्षका रूपमा लिनुपर्ने बताइन्।

निर्वाचनबाट नेतृत्व चुन्दा पराजित हुनेले इगो पाल्न सक्ने भए पनि सकभर आफू सबैलाई साथमा लिएर अगाडि बढ्ने र कांग्रेसलाई पालिकामा एक ढिक्का बनाउने अठोट उनले व्यक्त गरिन्।

‘जितको ममा कुनै अहम् छैन र म सबैलाई समेटर अगाडि बढ्नेछु,’ उनले भनिन्, ‘संगठन गाउँ-गाउँमा बिस्तार गरी बलियो सशक्त कांग्रेस बनाउन प्रयत्न गर्नेछु।’  सोतोपाटिबाट

याे पनि हेर्नुस्
Loading...