जब बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या गरियो..

सप्तरी : एक बालिकाको बलात्कारको प्रयासपछि हत्या गरिएको छ।

सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको हो। असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ।

यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ। यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको बताइएको छ।

प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए। बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिने छिमेकीको बगैंचामा गएकी थिइन्। त्यही बेला भेटिएका रोहितले आँप दिने लोभ देखाएर करणी प्रयास गरेको प्रहरी स्रोतले बताएको छ।

करणीको प्रयासबारे आमालाई भनिदिने भनेपछि रोहितले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्रोतको भनाइ छ। रोहितले पनि हत्या आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...