१० हजार लिटर निःशुल्क खानेपानीदेखि एम्बुलेन्ससम्म : हेटौडा–१५ मा जनमुखी सेवा सुरु

Image

हेटौंडा/ हेटौडा–१५ का वडाबासीका लागि यस वर्षदेखि अत्यन्तै जनमुखी सेवा सुरु हुने भएको छ। वडाले २०७९ साल माघ महिनादेखि प्रत्येक घरधुरीलाई वार्षिक १० हजार लिटर निःशुल्क खानेपानी, निःशुल्क एम्बुलेन्स सेवा, तथा बिरामीका लागि निःशुल्क रगत उपलब्धता कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको छ।

वडा अध्यक्ष सुनिल मुक्तानका अनुसार यो पहल स्थानीय नागरिकका आधारभूत आवश्यकता र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै अघि बढाइएको सामाजिक उत्तरदायित्वको प्रतिफल हो। उनका अनुसार जनताको स्वास्थ्य, स्वच्छ पानी र आकस्मिक सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम अघि सारिएको हो।

स्थानीय बासिन्दाले वडाको निर्णयलाई स्वागत गरेका छन्। निःशुल्क एम्बुलेन्स तथा रगत सेवाले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

वडाले भनेको छ— “हामी जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्छौँ। आगामी दिनमा पनि जनहितका कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”