बैतडीमा कांग्रेसको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्दै

बैतडी ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आ आफ्नै प्यानल घोषणा गरि चुनावी प्रचारप्रसार सुरु भएको छ ।
बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि यहाँ नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न नसकेका हुन् ।

जिल्लामा संस्थापन पक्षका रुपमा रहेको चतुरबहादुर चन्दले आफ्नो नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रमा संस्थापन पक्षका रुपमा रहेको शिवराज भट्टले पनि आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
चन्द नेतृत्वको प्यानलको उपसभापतिमा धामी हाल जिल्ला सदस्य रहेका खगेन्द्र सिंह धामी र हाल जिल्ला कोषाध्यक्ष रहेका रमेश पाण्डेयको नाम अघि सारिएको छ ।

सचिवमा हाल सचिव रहेका प्रेम बहादुर चन्द र हाल जिल्ला सदस्य रहेका देवराज जोशीको नाम सार्वजनिक गरिएको छ ।
सहसचिवमा हाल जिल्ला कार्यालय सचिव रहेका दिपेन्द्र बहादुर चन्द र हाल जिल्ला आमन्त्रित सदस्य रहेका दशरथ सिंह चाडले उम्मेदवारी घोषणा गरेका छन् ।

उता भट्ट प्यानलमा वर्तमान सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेद्वार रहेका छन् । यस्तै रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ ।

दुवै समूहले आ आफ्ना उम्मेद्वार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने निश्चित भएको छ ।
सभापतिका उम्मेदवार चतुरबहादुर चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको बताए ।
सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजानुका आउने सबैस्तरका निर्वाचनमा कांग्रेसलाई एक नम्बर बनाउन आफ्नो योजना रहेको बताए ।

यस्तै अर्को सभापतिका उम्मेदवार शिवराज भट्टले पनि पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए।
यसैबीच पालिका र प्रदेश क्षेत्रिय नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताहरुले बताएका छन् । केही स्थानीय तहमा उम्मेद्वार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् ।

जिल्लाका सबै वडामा गत भदौमा अभिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन असोज ९, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ ।
कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

याे पनि हेर्नुस्
Loading...