वर्षातका कारण अवरुद्ध बैतडीका ग्रामीण सडक अझै सञ्चालनमा आएनन्

बैतडी – बर्षातका कारण अवरुद्ध बैतडीका अधिकांश ग्रामिण सडकहरु अझै पनि सञ्चालनमा आउन सकेका छैनन ।

नेपालीहरुको महान पर्व दशैका समयमा पनि उक्त सडकहरु अवरुद्ध छन् । करिब चार महिनादेखि अवरुद्ध रहेका ग्रामिण भेगका उक्त सडकहरु सञ्चालनमा आउन नसक्दा स्थानियहरुले सास्ती खेप्नुपरेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा रहेको सिल्लेगडा–रिम, पञ्चेश्वर गाउँपालिकाको गडमेश्वर–बिजुल, कुलाउँ–डिम्बरघाट, सिगास गाउँपालिकाको ढुंगाड–गर्जे, बिप्फेकटाल–साउदखेत, श्रीभावर –चौखाम, देउलेक –शिवलिङ्ग, बिन्द्रावन–माण्डौ र दुदिलाखान –कुर्जेनेटालगायतका सडक बन्द छन् ।

सडक अवरुद्ध हुँदा ग्रामीण भेगका बजारहरुमा व्यापारीहरुले खच्चड तथा भरियालाई बोकाएर सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महँगो बताएका छन् ।

अवरुद्ध सडकका कारण ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य समेत महँगिएको दोगडाकेदार–१ रिमका कृष्ण साउँदले बताए । अवरुद्ध सडक मर्मत नहुँदा जिल्लाको रिमबासीलाई अहिले पाँच घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

सिल्लेगडा–रिम सडकखण्ड गत जेठ महिनादेखि अवरुद्ध भएको हो । उक्त सडक सञ्चालनका लागि गाउँपालिकाले ढिलाइ गरेको छ । यता जनप्रतिनिधिहरुले सडक खुलाउन पहल थालिएको बताउँछन् । दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले अवरुद्ध सिल्लेगडा–रिम सडकखण्ड तत्काल सञ्चालन गर्ने बताइन् ।

पञ्चेश्वर क्षेत्रका सडक पनि सञ्चालनको तयारी भएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष बिना भट्टका अनुसार गाउँपालिकाकाभित्रका अन्य अवरुद्ध सडकहरु गाउँपालिकाले सञ्चालनमा ल्याइसकेको र गडमेश्वर–बिजुल, कुलाउँ–डिम्बरघाट सडकहरु सञ्चालनका लागि काम भइरहेको छ ।

अवरुद्ध रहेका दुर्गम सिगास गाउँपालिकाकाका सडक पनि सञ्चालनका लागि काम भइरहेकाले छिट्टै सञ्चालनमा आउने वडा नम्बर ४ का वडाध्यक्ष शेरसिंह साउँदको भनाइ छ ।

याे पनि हेर्नुस्
Loading...