काम खोज्दै भारतका लेकतिर

कञ्चनपुर — कैलाली भजनीका ६० वर्षीय परना चौधरी अहिलेसम्म पहाड उक्लेका थिएनन् । कान कम सुन्ने उनी गाउँघरमै खेतीपाती र ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँथे । यसपालाभने रोपाइँ सकेर कामको खोजीमा सिमला पुगे । तीन महिना सिमलामा बिताएर दसैं टीकाको अघिल्लो दिन बिहीवार उनी घर फर्के ।

उनको ड्यूटी थियो, सिमलाको उच्च पहाडी भेगका स्याउ बगानमा बिहानैदेखि स्याउ टिप्ने, छान्ने र प्याकेजिङ गर्ने । राति अबेरसम्मै यसमै बित्थ्यो । स्याउ टिप्ने काम सकिएपछि घाँस काटने काम सुरु भयो । ‘कहिल्यै पहाड नदेखेको यसपाला त्यो पनि भोगेँ,’ शुक्रबार गड्डाचौकी नाका हुँदै घर फर्किन लागेका चौधरीले भने, ‘काम गर्न त पहाड भन्दा तराइमै सजिलो हुने रहेछ ।’

विगतका वर्षहरुमा थारु समुदायबाट कामको खोजीमा भारत जाने चलन निकै कम थियो । अझ हिमाली र पहाडी भेगतिर त कोही पनि जाँदैनथे । सशस्त्र द्वन्द्वका क्रममा गाउँमा सरकारी र विद्रोही पक्षले दुख दिने तथा रोजगारीसमेत नपाइने अवस्था भएपछि उनीहरु काम खोज्दै उत्तर भारतको पहाडी र लेकतिर पस्न थालेका हुन् । साथै सुदूरपश्चिमका पहाडी जिल्लामासमेत उनीहरु रोजगारीका लागि पुग्न थालेका हुन् ।

सुरुआतका वर्ष सीमित युवाहरु मात्रै नेपाल र भारतका पहाडी क्षेत्रमा रोजगारी खोज्दै जाने गरेका भए पनि हालका वर्षमा भने भने हजारौंको संखयामा थारु युवाहरु काम खोज्दै भारततर्फ जाने गरेका हछन् । ‘उहिले कोही जाँदैन्थे, अहिले गाउँका धेरै युवाहरु जान्छौं,’ कैलाली भजनीका पतिराम डगौंराले भने, ‘पहाडमा रमाउँदै काम गर्न मजा नै आउँछ ।’

पतिराम भारत उत्तराखण्ड राज्यको पहाडी सहर पिथौरागढमा ढुंगा फोड्ने तथा सडकको काममा मजदुरी गरेर शुक्रबार घर फर्किएका हुन् । उनी पनि पहिलो पटक सार्थीभाइसँगै पिथौरागढ गएका हुन् । असारमा रोपाइँ सकेर कामको खोजीमा गएका उनी दसैंका लागि अलि खर्च जुटाएर फर्किएका हुन् ।

‘पहिले जस्तो गाउँमा काम पाइँदैन, खेतीपातीको काममा पनि मान्छे धेरै भइसके,’ उनले भने, ‘नत्र पहाडतिर जाने मन त थिएन, तर नभएर के गर्नु ?’ विगतमा उनीगाउँमै खेतीपातीको कामसँगै घर तथा विकास निर्माणका काममा ज्यालामजदुरी गर्थे । त्यसका लागिसमेत टाढा टाढा जानुपर्ने र सधै काम पनि नपाइने भएका कारण यसपटक पिथौरागढ हानिएका हुन् ।

कैलाली हसुलियाका जगत चौधरी सिमला जान लागेको ४ वर्ष भयो । उनीहरु हरेक वर्ष रोपाइँ सकेर स्याउ टिप्ने सिजनमा सिमला पुग्छन् । दसैं तिहारका लागि घर फर्कन्छन् । गहुँ छरेर फेरि उतै लाग्छन् ।

जगत गाउँमै मिस्त्रीको काम गर्थे । वर्षमा दुई घर निर्माण गर्न भ्याउँथे । त्यसबाट घर परिवारको गुजारा चलाउन सहज भएको थियो । उनका अनुसार तर अहिले गाउँतिर जताततै सिकर्मी र डकर्मीको काम सिकेकाहरु धेरै भएपछि काम पाउन गाह्रो भयो । घरबाट टाढासमेत जानुपर्ने भयो । फेरि समयमै ज्याला पनि नपाइने समस्या !

‘सिमलामा जाने बितिक्कै काम पाइन्छ, समयमै ज्याला पनि पाइन्छ,’ जगतले भने, ‘एकमुष्ठ पैसा पाइने भएकाले बचत पनि हुन्छ ।’ उनकाअनुसार स्याउ टिप्ने काममा दैनिक साढे ४ सय भारु र घाँस काट्ने काममा ४ सय भारु ज्याला पाइन्छ । अन्य घर निर्माण तथा भौतिक संरचना निर्माणका काममा ५ सय भारु ज्याला पाइन्छ ।

पछिल्लो समय पश्चिम नेपालको दाङदेखि बँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायका युवाहरु पनि ठूलो संख्यामा भारत पस्छन् । एकै समूहमा सयभन्दा बढीको लर्को लागेर उनीहरु कामका लागि भारतका पहाडी क्षेत्रमा जाने गर्छन् ।

याे पनि हेर्नुस्
Loading...