२० पुस, काठमाडौं । जिल्ला हुलाक कार्यालय बैतडीले चालु आर्थिक बर्षको ५ महिनामा राजश्व संकलनमा कमी आएको जनाएको छ । गत आर्थिक बर्षको ५ महिनाको तुलनामा यो बर्षको श्रावणदेखि मंसिर मशान्त सम्मको राजश्व संकलनमा कमी आएको हो । गत आर्थिक बर्षको ५ महिनामा ४ लाख ८३ हजार ५ सय १६ रुपैया ४६ पैसा राजश्व संकलन भएकोमा यो बर्ष सो अवधिमा १ लाख ३७ हजार ५ सय २२ रुपैया मात्र राजश्व संकलन भएको जिल्ला हुलाक कार्यालय बैतडीका कार्यालय प्रमुख टिकाराम रावलले जानकारी दिनुभएको छ ।
गत आर्थिक बर्षमा बेरुजु दाखिता वाफत २ लाख ४२ लाख २ सय ७३ रुपैया ४६ पैसा, पत्रपत्रिका दर्ताबाट ४ सय ८५ रुपैया, हुलाक टिकट बिक्रीबाट २ लाख १४ हजार ५ सय ७ रुपैया र काउन्टर अनलाईबाट २६ हजार २ सय ५१ रुपैया राजश्व संकलन भएको थियो । चालु आर्थिक बर्षको सो अवधिसम्म भने हुलाक टिकट बिक्रिबाट मात्र १ लाख ३७ हजार ५ सय २२ रुपैया मात्र राजश्व संकलन भएको रावलले बताउनुभयो । यो बर्ष कुनै पनी रेडियो तथा पत्रकारिता दर्ता तथा नबिकरण नभएको कार्यालयले जनाएको छ । बेरुजु दाखिला वाफतको राजश्व पनी संकलन नगरिएको राजश्व संकलनमा कमी आएको हो ।
यस्तै कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएको बताईएको छ । कार्यालयमा ६३ जनाको दरबन्दी रहेकोमा ४२ जना कार्यरत रहेको र २१ जनाको दरबन्दी रिक्त रहेको छ । यस्तै १४ जना खरिदारको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत रहेका छन् भने ११ जना खरिदारको दरबन्दी रिक्त रहेको छ । रिक्त रहेका पदको पदपुर्तीका लागी लोक सेवा आयोगसंग माग गरिएको कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो । कार्यालयमा २९ जना हल्काराको दरबन्दी रहेकोमा २२ जना कार्यरत रहेको र ७ जनाको पद रिक्त रहेको कार्यालयले जनाएको छ ।