सोह्र श्राद्धमा के-के गरिन्छ ?

हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरुलाई गर्नू भनी बताइएको छ । आफ्ना पितृहरु भन्नाले आफ्नो घर र मावली घरमा सद्गति भइसकेका अर्थात् मृत्यु भएको एक वर्ष पुगिसकेकालाई भनिन्छ । सबैभन्दा नजिकका पितृहरुमा घरतर्फका तीन पुस्ता र मावली तर्फका हजुरबुवादेखि माथि तीन पुस्ता पर्दछन् । पितृहरुको मृत्यु भएको दिनमा उहाँहरुको सम्झना गरी श्रद्धापूर्वक गरिने स्मरणीय कार्यलाई श्राद्ध भनिन्छ । जुन कुरा चान्द्रमान अर्थात् कृष्णपÞक्ष र शुक्ल पक्षका तिथिअनुसार गरिन्छ ।

पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु भएपछि शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ ।

आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धार्मिक सम्प्रदायलाई रोकावट छैन ।

विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ ।

पिता–माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धासुमन चढाउने निर्देशन वैदिक हिन्दुधर्मले दिएको छ । अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र देवलोक(स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । श्राद्धको फलबाट देवलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ ।

श्राद्धमा के-के गरिन्छ ?

आफ्नो आमाबुवाको श्राद्धको दिन आएपछि अघिल्लो दिन एक छाक मात्र भोजन गरी दारी कपाल काटी शुद्ध भई श्राद्धको तयारी गरिन्छ जसलाई एकछाकी पनि भन्ने गरिन्छ । श्राद्धको दिन गाउँघरका आफ्ना दाजुभाइ इस्टमित्र, गुरु र गरिबहरुलाई पनि श्राद्धको प्रसाद खान बोलाइन्छ । जाने आफै गर्न पनि सकिन्छ आफूलाई आउँदैन भने गुरु पुरोहितलाई घरमा बोलाई वैदिक विधिअनुसार श्राद्ध गरिन्छ । श्राद्ध सकिसकेपछि दालभात, तरकारी, अचार, खीर, मिठाइ, दही घ्यूसहितको परिकार सबैलाई खुवाइन्छ र खाईन्छ ।

श्राद्धमा के-के गर्नु हुँदैन ?

शास्त्रका अनुसार श्राद्धको समयमा घरमा तामसी भोजन (माछामासु, लसुन, प्याजÞ, मदिरा र असन मानिने खाना) बनाउन पनि अशुभ मानिन्छ । यो समयमा मसुराको दाल, राजमा, धतुरो लगायतका बस्तुहरुको प्रयोग पनि बर्जित मानिन्छ । श्राद्धको दिन शरीरमा नुन, तेल आदि प्रयोग गर्नु पनि अशुभ मानिन्छ । श्राद्धको समयमा यी काम हरु गरेमा घरमा अशुभ र अशन्ति हुने शास्त्रमा उल्लेख छ ।

श्राद्धका प्रकार र विधि

शास्त्रमा श्राद्धका धेरै भेद बताइए पनि आभ्युदयिक श्राद्ध, एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध÷सोह्र श्राद्ध, र तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन् । शुभ कार्यको अवसरमा पनि श्राद्ध गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।

श्राद्ध गर्ने विधि

श्राद्धको प्रमुख अङ्ग सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ ।

हिन्दू धर्म तथा संस्कृति अत्यन्त प्राचीन भएकोले देश, काल, समय र परिस्थिति अनुसार गर्नु भनेकोले पनि सजिलोको लागि उत्तिकै उदार र लचिलो मानिन्छ । पितृपक्षमा मांसाहार गर्नेहरु पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् ।

साथै गुरु, ज्वाइँ, छोरी, भानिज, नाति नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन् । हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ । तर यो सबैको लागि नभई आ–आफ्नो जातीको संस्कृतिअनुसार बनाईएको चलन हो ।

याे पनि हेर्नुस्
Loading...