घटालथानमा दशै जाँतको तयारी अन्तिम चरणमा

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशै जाँत (मेला) को तयारी पूरा भएको छ।

हरेक वर्ष बडा दशैको अशिग्राम मन्दिरमा दशै जाँत धुमधामसँग धार्मिक आस्थाका साथ मनाइने गरिन्छ। डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरू दशै जाँतका बेला घटाल बाबाको पूजाआजा संगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला लगाएत छिमेकि देश भारतबाट पनि भक्तजनहरु आउने गर्दछन्। धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०÷१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै खाने गरेको स्थानीय बताउँछन्।

घटाल बाबा संग कसैले केहि मागेमा मनोकामना पूरा हुने जनविस्वास रहदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहि आएको छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ। घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा र्पुयाइन्छ बडा दशैको दिन मेला सकिएपछि बेलुकि देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

news center of article

दशैजातका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन्। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। सदियौ.देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

दशै जातको अर्को आकर्षण आफन्तजनहरु संगको भेटघाट केहि समयका लागि भएपनि एकै थलोमा बसेर सुख दुख साँटासाँट गर्न पाउनु पनि हो। हालका बर्षमा बैदेशिक रोजगारी तिर जानेहरुको संख्या बर्षेनी बढन थालेको छ। त्यसैले विगतमा जस्तो पुरुष भन्दा मेलामा महिलाहरुको उपस्थिति बढदै गएको देखिन्छ।

यस्तै घटाल थानमा हरेक वर्षको बैसाख २ गते मेला लाग्ने गर्दछ। साथै जाँत अवधिभर जाँड रक्सी विक्रि वितरण, सेवन गर्ने तथा जुवाँतास खेल्ने खेलाउनेलाई समितिको निर्णय अनुसार कडाभन्दा कडा कारबाही गरिने भएकाले जाँतलाई मर्यादित बनाउन घटाल क्षेत्र विकास समाजले सबैलाई आग्रह गरेको छ। -युनिटिखबरबाट

याे पनि हेर्नुस्
Loading...