सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै : यस्तो छ पर्वको महत्व

१५ पुष, सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । प्रदेशका ९ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।

हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ। यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली रमाइलो गर्ने चलन छ ।

घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लिएर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत/सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा हेर्न सकिने भएकाले आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

news center of article

पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको बुढापाकाहरूको भनाइ छ।

पहाडबाट तराइ झरेपछि भने बिस्तारै यो पर्व छोड्दै गएको पाईन्छ । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका सहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ।

पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।

याे पनि हेर्नुस्
Loading...