ड्रेसलले जिते ओलम्पिकमा पाँचौं स्वर्ण, रचे इतिहास

काठमाडौं : अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका छन् ।

उनले आइतबार बिहान भएको चार गुणा १०० मिटर मिडले रिलेमा अमेरिकाले विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले पनि स्वर्ण संख्या थपे ।ड्रेसले बटरफ्लाई लेग स्विम गरेका थिए । ड्रेसलसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे।

टोकियो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् ।

news center of article

त्यसअघि आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा उनले २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।२४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाईमा नयाँ विश्वकीर्तिमान बनाएका थिए । चार गुणा १०० मिटर मिक्स्ड मिडले रिलेमा भने ड्रेससहितको अमेरिकन टिमले पाँचौ भएको थियो ।

‘नेक्स्ट माइकल फेल्प्स’को रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

याे पनि हेर्नुस्
Loading...