छानबिन नसकुन्जेल अल्मुताइरीलाई प्रशिक्षण गर्नबाट रोक

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानविन प्रक्रिया नटुङ्गे सम्मका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणको जिम्मेवारीमा रोक लगाइएको छ ।

एन्फाले श्रावण १७ गते अर्थात आइतबारबाट लागु हुने गरी प्रशिक्षक अल्मुताइरीलाई पछिल्लो समय अल्मुताइरीको राजिनामा प्रकरणसँग जोडिएको छानविनको विषय किनारा नलागेसम्मका लागि प्रशिक्षणमा सहभागी हुन नदिने भएको हो ।

एन्फा प्रवक्ता किरण राइले शुक्रबारको आकस्मिक बैठकमा भएको आन्तरिक सहमति अनुरुप छानविन प्रक्रियामा रहेका ब्यक्तिलाई कार्य गर्नबाट रोक लगाउने मान्यता अनुरुप अल्मुताइरीलाई प्रशिक्षकको जिम्मेवारीबाट छानविनको निष्कर्ष नआउन्जेल प्रशिक्षणमा सहभागितामा रोक लगाइएको बताए ।

उनले भने,‘शुक्रबार बसेको बैठकले अल्मुताइरीमाथि उठेको प्रश्नको निष्कर्ष नआउन्जेलसम्म प्रशिक्षण गर्नबाट रोक लगाउने सहमति भएको थियो,त्यही अनुरुप अहिलेलाई १० दिन र सो समयमा पनि छिनोफानो भएन भने छानविन नटुङ्गिए सम्मका लागि रोक लगाउने निर्णय भएको छ ।’

राइले अल्मुताइरीको विषयमा आजै अर्थात आइतबार नै राष्ट्रिय टोलिका ब्यवस्थापक मधुसुदन उपाध्यायलाई औपचारिक पत्र पठाइसकिएको जानकारी दिए ।

अल्मुताइरीले गत आइतबार एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्गले आफूलाई काम गर्न अवरोधसँगै नाटक देखाएको आरोप लगाउँदै राजिनमा दिने बताएका थिए । त्यसपछि उपाध्यक्ष नेम्वाङ्गले आफूमाथि अल्मुताइरीले लगाएको आरोपमा कुनै सत्यता नरहेको र यस विषयमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन एन्फासमक्ष माँगपत्र बुझाएका थिए ।

news center of article

यसअघि प्रशिक्षक अल्मुताइरीले मेरोखेल डटकमका पत्रकारमाथि गालीगलौज गर्दै अभद्र ब्यवहार गरेका थिए । यसमाथि पनि मेरोखेल डटकमले एन्फासाग अल्मुताइरीमाथि छानविन गरी कारवाहीको माँग पत्र बुझाएको थियो ।

यी दुबै विषयमा छिनोफानो लगाउन गत शुक्रबार एन्फाले आकस्मिक कार्यसमिति बैठक डाँकेको थियो । तर उक्त बैठकले परेका उजुरीहरुमाथि निष्कषर्न दिन नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई निष्पक्ष छानविन गरिदिनका लागि अनुरोध गर्ने निर्णय गर्यो ।

सोही बमोजिम एन्फाले आज नै खेलकुद मन्त्रालयलाई छानविनका लागि औपचारिक पत्र पठाएको छ । तर अहिले युवा तथा खेलकुदमन्त्री नियुक्ति भइनसकेको र मन्त्रालयका सचिव पनि देशबाहिर रहेकाले यो विषय केही समय लम्बिने निश्चित देखिएको छ ।

यसैबिच बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई १० दिनको विश्राम दिइएको छ ।

साफ च्याम्पियनसिप तथा एसियन कप २०२३ को तेस्रो चरणको छनौटको खेलको तयारीको लागि नेपाली टिमले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गर्दै आएको थियो । -मेरोखेल बाट

याे पनि हेर्नुस्
Loading...