दुई युवा स्टारको कप्तानीमा ईपीएको उद्घाटन खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई युवा स्टारको कप्तनीमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा युवा ब्याट्सम्यान कुशल भुर्तेलले पहिलोपटक ललितपुरका लागि कप्तानी गर्दैछन् । यता, सन्दीप लामिछानेले ईपीएलमा पहिलो पटक कप्तानी गर्दैछन् । काठमाडौं किङ्स–११ का लागि पहिलोपटक सन्दीपले कप्तानी गर्न लागेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा हुने ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच खेल हपरान्ह १२ः१५ मा सुरु हुनेछ । कुशल पहिलोपटक कप्तानको रुपमा डेब्यू गर्दैछन् । पहिलोपटक कप्तानी गर्न लागेका कुशलले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए । साथै उनले उत्कृष्ट प्रदर्शन गर्ने पनि बताए ।

“पहिलोपटक कप्तानी गर्दैछु । मेरा लागि यो अवसर र चुनौती दुवै हो,” जिम्मेवारी नयाँ भएपनि आफ्नो व्यक्तिगत प्रदर्शनमा कुनै असर नपर्ने भन्दै कुशलले थपे, “व्यक्तिगत प्रदर्शनमा कुनै असर पर्दैन । अझै उत्कृष्ट प्रदर्शन गर्ने जोस आउँछ ।”

कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी छोडेपछि टिमका लागि कप्तानी गर्ने जिम्मेवारी पाएका कुशलले ज्ञानेन्द्रको अनुपस्थितिले टिमको प्रदर्शनमा कुनै फरक नपर्ने बताए । “क्रिकेट टिम गेम हो । यसमा एक व्यक्तिको प्रदर्शन भन्दा पनि पूरै टिमको प्रदर्शनले नतिजा निस्कने गर्छ । त्यसकारण उहाँको अनुपस्थितिले हाम्रो प्रदर्शन पर्दैन भन्ने विश्वास लिएका छौँ । सबै खेलाडीको मिहिनेत चाहिन्छ । टिम गेम खेल्यो भने नतिजा पनि राम्रो आउँछ । हामी सोही मनोभावले अघि बढिरहेका छौँ,” पछिल्लो समय ओपनिङमा उत्कृष्ट प्रदर्शन गरेका कुशलले भने ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इङ्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् । त्यसैले विदेशी खेलाडीको प्रदर्शनले पनि टिममा केही सहजता आउने कुशलको बुझाइ छ ।

यता, सन्दीप लामिछानेले पनि टिमले राम्रो तयारी गरेको हुनाले प्रदर्शन पनि उत्कृष्ट हुने बताए । पछिल्लो समय काठमाडौं मेयर्स कप र पोखरा प्रिमियर लिगमा कप्तानी गरेका सन्दीपले पहिलोपटक ईपीएलको टिमका लागि कप्तानी गर्न लागेका हुन् ।

“काठमाडौंको पहिले पनि टिम बलियो थियो । त्यसमाथि विश्व स्तरमा नाम चलेका खेलाडीहरूको आगमनले हाम्रो टिमको हौसला धेरै बढेको छ । उनीहरूबाट नयाँ युवा पुस्ताले धेरै कुरा सिक्न पाउनेछन् । साथै नेपाली क्रिकेटको विकासमा पनि केही सहयोग पक्कै पुग्नेछ,” काठमाडौंका कप्तान सन्दीपले भने ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशजस्ता खेलाडी छन् । ललितपुर र काठमाडौं यसअघि ईपीएलमा तीनपटक आमनेसामने भएका छन् । त्यसमा ललितपुर हाबी छ । ललितपुरले तीनवटै खेलमा जित निकालेको छ ।

२०१८ को सिजन भएको समूह चरणको पहिलो खेलमा काठमाडौंमाथि ललितपुरले १० विकेटको जित निकालेको थियो । त्यसपछि पहिलो क्वालिफायर्समा काठमाडौंमाथि ललितपुरले १ विकेटको जित हात पारेको थियो । त्यस्तै २०१७ मा ललितपुरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । साविकको विजेता ललितपुरले गत सिजनको फाइनल खेलमा भैरहवा ग्लाडियटर्समाथि १४ रनको जित निकालेको थियो ।

याे पनि हेर्नुस्
Loading...