धनगढीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पहिलाे दिनमा कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा विजयी

धनगढी – कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको हिजो भव्य समारोहकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्। प्रतियोगिता अन्तरगत पहिलो दिन भएका ४ खेलमा कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराले विजयी सुरुवात गरेका छन्। हिजो भएको उद्घाटन खेलमा कञ्चनपुरले अछामलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

त्यस्तै दोस्रो खेलमा कैलालीले दार्चुलालाई ३–०, डोटीले बैतडीलाई ३–१ र डडेल्धुराले बाजुरालाई ३–० को सेटमा पराजित गरी विजयी सुरुवात गरेका छन्। प्रतियोगिता अन्तरगत आज लिग चरणका ६ वटा खेल हुने छन् । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ। प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ। प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ। प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने छ र ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...