ऋतुराजले पाए ओरेन्ज क्याप, अरु कसले कुन अवार्ड जिते?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नई सुपर किंग्सका ओपनर ऋतुराज गायकवाडले ओरेन्ज क्याप जितेका छन्। १४औं सिजनको आईपीएलमा सर्वाधिक रन बनाउँदै उनले ओरेन्ज क्याप जितेका हुन्।

चेन्नईकै ओपनर फाप डुप्लेसिसलाई पछि पार्दै उनले क्याप जिते। उनले १० लाख भारु पाए। यस्तै, ऋतुराज नै इमर्जिङ प्लेयर अफ द टुनामेन्ट घोषित भए। यस वाफत पनि उनले १० लाख भारू नै हात पारे।

ऋतुराजले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरे। ऋतुराजले १६ खेलमा १ शतक र ४ अर्धशतकसहित कूल ६ सय ३५ रन बनाएका थिए। शुक्रबार भएको फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि जितेको थियो ।

रोयल च्यालेन्जर्स बैंग्लोरका तीव्र गतिका बलर हर्षल पटेल मोष्ट भ्यालुएबल खेलाडी घोषित भएका छन्। बेंगलोरका लागि पटेलले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको शानदार प्रदर्शनमा आरसीबी एलिमिनेटरसम्म पुगेको थियो। उनले १५ खेलमा ३२ विकेट लिएका थिए। यो एकै सिजनमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट संख्या हो। उनले ड्वेन ब्राभोको कीर्तिमान बराबर गरे।

यसअघि सन् २०१३ मा चेन्नईका ब्राभोले पनि ३२ विकेट लिएका थिए। राजस्थान रोयल्सले ‘फेयर प्लेअवार्ड’ जितेको छ। पञ्जाब किंग्सका रवि विश्रोईले लिएको क्याच ‘क्याच अफ द सिजन’ बन्यो।

दिल्ली क्यापिटल्सका शिमरन हेटमायर ‘सुपर स्ट्राइकर अफ द सिजन’ बनेका छन्। उनको स्ट्राइक रेट १६८ थियो। गेमचेन्जर अफ द सिजन अवार्ड हर्षल पटेलले पाएका छन्। सर्वाधिक छक्का हान्ने खेलाडी पञ्जाबका कप्तान लोकेश राहुल बने।

उनले कूल ३० छक्का प्रहार गरेका थिए। पावर प्लेयर अफ द सिजन अवार्ड कोलकता नाइट राइडर्सका ओपनर वेन्कटेश अय्यरले हात पारे। अवार्डसँगै सबैले १०–१० लाख भारू पनि पाए। उपाधि जितेको चेन्नईले २० करोड र उपविजेता कोलकताले १२ करोड ५० लाख भारतीय रुपैयाँ पाएको छ।

याे पनि हेर्नुस्
Loading...