घरेलु मैदानमै पिएनजीसँगको वानडे सिरिज गुमाएपछि यस्तो भन्छन् सन्दीप

Image

काठमाडौं ।

पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालले पिएनजीसँगको सिरिज २–० ले गुमाउनपुग्यो । पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पिएनजीले भने ऐतिहासिक सफलता प्राप्त गर्‍यो । उसले पहिलोपटक नेपालविरुद्धको वानडे सिरिज जितेको हो । सिरिजको दोस्रो खेलमा नेपालले दिएको २८९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि लेगा सियाकाले शानदार पारी खेले । उनले १०२ बलमा १२ चौका र एक छक्कासहित ९० रन बनाए ।

त्यस्तै, रिली हेकुरेले अविजित अविजित ४८, सेसे बाउले ३८, चार्ल्स अमिनीले ३५, चाड सोपरले नटआउट १६, हिरी हिरीले १३ र नर्मन भानुआले ११ रनको योगदान दिए । बलिङमा सोमपाल कामीले तीन, पवन सर्राफले दुई, आरिफ शेख र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले १४० बलमा सात चौकासहित १०५ रन बनाए । उनले एकदिवसीय क्रिकेटमा दीपेन्द्रको यो पहिलो शतक हो ।

साथै, उनी यो प्रारूपमा शतक बनाउने तेस्रो नेपाली ब्याटर पनि बनेका छन् । यसअघि नेपालकोतर्फबाट एकदिवसीय क्रिकेटमा पारस खड्का (११५) र रोहितकुमार पौडेल (१२६ रन) ले शतक बनाइसकेका छन् । पछिल्लो समय खासै लयमा नदेखिएका ऐरीले आज भने उत्कृष्ट ब्याटिङ गरे ।

त्यस्तै, देवले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रनको पारी खेले । शुक्रबार डेब्यूमा शून्यमै आउट भए पनि उनले आज भने शानदार कमब्याक गरे । रोहितकुमार पौडेल ३५, भीम सार्की २६, आरिफ शेख चार, अनिलकुमार साह एक, कुशल भुर्तेल र पवन सर्राफ शून्यमा आउट भए ।

कप्तान सन्दीप लामिछानेले अन्तिममा आक्रामक पारी खेले । उनले ९ बलमा २ चौका र एक छक्कासहित अविजित २४ रन बनाए । त्यस्तै, सोमपाल कामी ३ रनमा नटआउट रहे । पिएनजीका अलि नाओले तीन, नर्मन भानुआले दुई, चार्ल्स अमिनी र चाड सोपरले एक/एक विकेट लिए ।

देव र दीपेन्द्रले बनाए कीर्तिमान

देव खनाल र दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले नेपालको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी गर्ने कीर्तिमान बनाएका हुन् । खनाल र ऐरीबीच १२९ रनको साझेदारी भयो ।

उनीहरूले पिएनजीसँगको वानडे सिरिजको दोस्रो खेलमा यो साझेदारी गरेका हुन् । जुन एकदिवसीयमा नेपालबाट बनेको कुनै पनि विकेटका लागि उच्च साझेदारी (१२९ रन) हो । यसअघि शुक्रबार पपुवा न्यूगिनीविरुद्ध नै आरिफ शेख र रोहितकुमार पौडेलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।

दुई खेलको सिरिजमा पाहुना टोली पिएनजी १–० ले अघि छ । सिरिज बराबर गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल हार्नुका केही कारण

कमजोर ब्याटिङ सुरुवात– नेपालले ब्याटिङमा आज निकै खराब सुरुवात गर्यो । पहिलो बलमै कुशल भुर्तेल शून्यमै आउट भए । अर्का ओपनर अनिल साह पनि १ रनमै आउट भएपछि नेपालले सोचे अनुरूप सुरुवात गर्न सकेन । यदि सुरुवात राम्रो हून्थ्यो भने नेपालले २७९ रनभन्दा माथिको लक्ष्य दिने सम्भावना थियो ।

सोमपालले साथ नपाउनु– आज पनि नेपालले तीन बलरको साथ मात्र खेल्यो । तीमध्ये गुल्शन झाले चोटका कारण एक ओभर मात्रै बलिङ गर्न पाए । अनुभवी सोमपाल कामीले भने उत्कृष्ट प्रदर्शन गरे । उनले ९ ओभरमा एक मेडनसहित ३८ रन दिएर ३ विकेट लिए । यदि उनलाई कुनै अर्का कुनै बलरले राम्रो साथ दिएको भए नेपालले खेल जित्ने सम्भावना थियो ।

खराब कप्तानी– पिएनजीसँगको वानडे सिरिजमा सन्दीपको कप्तानी साधारण रह्यो । उनी सही समयमा सही बलरको चयन गर्न चुके । सन्दीपले दोस्रो खेलमा ८ बलरको प्रयोग गरे । जबकि पिएनजीले ६ बलरलाई मात्र बलिङको मौका दिएको थियो ।

साथै, नेपाली बलर अनुशासित बलिङ गर्न पनि चुके । पिएनजीले अतिरिक्तबाट ८ रन मात्र खर्चिएको थियो । तर, नेपालले भने एक्स्ट्राबाट २३ रन खर्चियो । जसकारण पनि नेपाल पराजित हुन पुग्यो ।

हारपछि के भन्छन् सन्दीप?

दोस्रो खेलमा म्याच हार्नुको मुख्य कारण कमजोर बलिङ नै रहेको बताए । साथै, उनले पिएनजीका मध्यक्रमका ब्याटरबीच राम्रो साझेदारी बन्दा पनि नेपाल पराजित हुन पुगेको बताए ।

‘पिएनजीका ब्याटरबीच राम्रो साझेदारी बन्यो । उनीहरूको साझेदारी तोड्न हामी असफल भयौं । स्वयम् मैले पनि चाहेको समयमा विकेट लिन सकेन,’ सन्दीपले म्याच सकिएपछि सञ्चारकर्मीसँग भने, ‘गुल्शन झा घाइते हुनु पनि बलिङमा समस्या देखियो ।’ उनले दीपेन्द्र ऐरी र देव खनालेको ब्याटिङको भने प्रशंसा गरे ।