काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । शनिबार भएको पहिलो खेलमा गत च्याम्पियन चेन्नई सुपर किंग्स (सिएसके) लाई ८ विकेटले हराउँदै हैदराबादले पहिलो जित दर्ता गरेको हो । ऊ पहिलो खेलमा ६१ र दोस्रो खेलमा १६ रनले पराजित भएको थियो ।
तेस्रो खेलमा चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि युवा ब्याटर अभिषेक शर्माले उत्कृष्ट पारी खेले । उनले ५० बलमा पाँच चौका र तीन छक्कासहित ७५ रन बनाए । जारी लिगमा अभिषेकको यो पहिलो अर्धशतकीय पारी हो ।
त्यस्तै, राहुल त्रिपाठीले अविजित ३९, कप्तान केन विलियम्सनले ३२ र निकोलस पूरनले नटआउट ५ रनको योगदान दिए । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्रावोले एक/एक विकेट लिए । त्यसअघि, मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो ।
उसका लागि मोइन अलीले ४८, अम्बाती रायडूले २७, कप्तान रवीन्द्र जडेजाले २३, ऋतुराज गायकवाड १६ र रोबिन उथप्पाले १५ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दर, टी नटराजनले दुई/दुई, मार्को जनसन, भुवनेश्वर कुमार, एडन माकर्मले एक/एक विकेट लिए ।
आजको जितसँगै हैदराबाद सातौँ स्थानमा उक्लिएको छ । चेन्नई भने नवौँ स्थानमा छ । उसले चार म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।
अभिषेक र सन्दीपले सँगै गरेका थिए आईपीएल डेब्यू
अभिषेक र नेपाली लेगस्पिनर सन्दीप लामिछानेले एकै म्याचमा आईपीएल डेब्यू गरेका थिए । यी दुई युवाले २०१८ को सिजनमा तत्कालीन दिल्ली डेयर डेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए ।
सन्दीप र अभिषेकले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध खेल्दै आईपीएल डेब्यू गरेका थिए । दुबै खेलाडीको आईपीएल डेब्यू उत्कृष्ट रहेको थियो । डेब्यू म्याचमा अभिषेकले १९ बलमा चार छक्का र तीन चौकासहित अविजित ४६ रन बनाएका थिए ।
त्यस्तै, सन्दीपले चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । उनले डेब्यू म्याचमा विकेटकीपररब्याट्सम्यान पार्थिव पटेलको विकेट लिएका थिए । सो म्याचमा सन्दीप सबैभन्दा किफायती बलर सावित भएका थिए । अभिषेक र सन्दीपका लागि उत्कृष्ट रहेको सो म्याचमा आरसीबी ५ विकेटले विजयी भएको थियो ।