Khabar Board

दिल्लीका पूर्वकप्तान भन्छन्– पाठ सिकाउन वार्नरलाई टिमबाट हटाएका थियौं

काठमाडौं ।

भारतीय क्रिकेट टिमका पूर्वसदस्य वीरेन्द्र सहवागले दिल्ली क्यापिटल्सका ओपनर डेभिड वार्नरको बारेमा चकित पार्ने खुलासा गरेका छन् । तत्कालिन दिल्ली डेयर डेभिल्सका कप्तानसमेत रहेका सहवागले वार्नरको व्यवहारबारे अनौठो कुरा खुलासा गरेका हुन् ।

उनले वार्नरको नराम्रो व्यवहारबाट केही सदस्यको चित्त दुःखेको कारण उनलाई टिममा रिलिज गरेको वर्षाैंअघिको कुरा खुलासा गरे । वार्नरले सन् २००९ मा दिल्ली डेयरडेभिल्सबाट आईपीएलमा डेब्यु गरेका थिए । त्यतिबेला टिमको कप्तान सहवाग थिए ।

यद्यपि त्यो सिजनमा वार्नरको प्रदर्शन राम्रो हुन सकेन । सहवागका अनुसार त्यतिबेला वार्नरमा अनुशासनको कमी थियो । र, यही कारणले उनीविरुद्ध कारबाही गर्नुपरेको सहवागले बताएका छन् ।

क्रिकबजसँगको कुराकानीमा सहवागले भनेका छन्, ‘म धेरै खेलाडीप्रति आक्रोशित भएका थिए । र, वार्नरसँग पनि म रिसाएको थिए । किनकी उनी त्यतिबेला खेलभन्दा बढी पार्टीमा ध्यान दिन्थे । पहिलो वर्ष उनले केही खेलाडीसँग पनि झगडा गरे । त्यसैले हामीले अन्तिम दुई खेलका लागि उनलाई फिर्ता पठाएका थियौं ।’

सहवागले अगाडि भनेका छन्, ‘कहिलेकाहीँ यस्तो पनि हुन्छ कि कसैलाई पाठ सिकाउनको लागि उसलाई टिमबाट बाहिर निकालिदिनुपर्छ । वार्नर नयाँ खेलाडी थिए, त्यसैले उनलाई सही बाटो देखाउन आवश्यक थियो । र, वार्नरलाई टिमबाट बाहिर राख्यौं । उनका कारण अन्य खेलाडीको प्रदर्शनमा पनि प्रभाव परेको थियो । जब वार्नरलाई टिम बाहिर राख्यौं त्यसपछि भने हामीले खेलहरू जित्यौं ।’

फेरि वार्नर यही सिजनदेखि फेरि दिल्लीमा जोडिएका छन् । यसपालि उनी टिमको जितमा अहम् भूमिका निर्वाह गरिरहेका छन् । वार्नरले आठ खेलमा चार अर्धशतकसहित ३५६ रन बनाएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.