Khabar Board

कीर्तिमानी जित निकाल्दै गुजरात प्लेअफमा, राशिद खानले गरे शानदार बलिङ

काठमाडौं ।

गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को प्लेअफमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा प्रवेश गरेको हो । जारी सिजनमा प्लेअफको यात्रा पक्का गर्ने गुजरात पहिलो टोली बन्यो ।

उसले डेब्यू सिजनकै प्लेअफको यात्रा पक्का गर्न सफल भयो । त्यस्तै, अर्को नवप्रवेशी टोली लखनउले भने औपचारिकरूपमा प्लेअफ पुग्न एक खेल जित्नुपर्नेछ । आफ्नो १२ औं खेलमा गुजरातले दिएको १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लखनउले १३.५ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

उसका लागि दीपक हूडाले २७, आवेश खानले १२ र क्विन्टन डिककले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनलाई सस्तैमा समेट्न राशिद खानले घातक बलिङ गरे । ३.५ ओभरमा २४ रन दिएका उनले चार विकेट लिए । त्यस्तै, रविश्रीनिवासन साई किशोर र कप्तान हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनायो । उसका लागि शुभमन गिलले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौकासहित अविजित ६३ रन बनाए ।

त्यस्तै, डेविड मिलरले २६, राहुल तेवटियाले नटआउट २२, कप्तान हार्दिक पाण्ड्याले ११ र म्याथ्यू वेडले १० रनको योगदान दिए । लखनउका लागि आवेश खानले दुई, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरातले १२ म्याच खेल्दा नौमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । ऊ १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । लखनउले १२ मध्ये आठमा जित र चार खेलमा हारको सामना गरेको छ । ऊ १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.