काठमाडौं ।
भारतीय प्रशासनिक सेवा (आईएएस)का एक वरिष्ठ दम्पतीले आफ्नो कुकुर घुमाउन रंगशाला खाली गरिएको मिडियामार्फत सार्वजनिक भएपछि कारबाही गरिएको छ।
भारतको अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसका अनुसार दिल्लीका प्रमुख सचिव (राजस्व) सञ्जीव खिरवारलाई कारबाही स्वरूप केन्द्र शासित प्रदेश लद्दाखमा सरूवा गरिएको छ भने उनकी श्रीमती रिंकु दुग्गालाई अरुणाचल प्रदेशमा पठाइएको छ।
कारबाही स्वरूप उनीहरूलाई पूर्व र पश्चिमको हिमाली क्षेत्रमा सरूवा गरिएको हो। उनीहरूलाई सरूवा गरिएको स्थानबीचको दूरी ३२ सय किलोमिटर छ। एक ठाउँबाट अर्को ठाउँमा पुग्न गाडीमा ६५ घन्टा लाग्छ।
यसअघि बिहीबार दिल्लीको त्यागराज रंगशालाको ट्र्याकमा कुकुरसँगै हिँडेको जोडीको तस्बिर भाइरल भएको थियो। सामाजिक सञ्जालमा पनि दुवैको चर्को आलोचना भइरहेको छ। रंगशालाको ट्र्याकमा कुकुरलाई हिँडाउन खेलाडीलाई अभ्यासबाट रोकिएको थियो।
इन्डियन एक्सप्रेसको समाचारअनुसार अभ्यास गरिरहेका खेलाडीहरूले सरकारी अफिसरको कुकुरलाई रंगशालामा घुमाउनु पहिले रंगशाला छाड्नु परेको थियो।
खेलाडीहरुका अनुसार अघिल्लो दिनसम्म उनीहरूले राति ८ बजेसम्म अभ्यास गर्थे। तर त्यसदिन ७ बजेबाट गार्डले खेलाडीलाई ट्र्याकबाट हटाउन थालेका थिए।
The Indian Express visited the #ThyagrajStadium on three evenings over the past seven days and saw the stadium guards walking towards the track at around 6.30 pm, blowing whistles and ensuring that the arena was cleared by 7 pm.
✍️ @AndrewAmsan
Read: https://t.co/emfbuM67FG pic.twitter.com/bpUfo7PL3E
— Express Sports (@IExpressSports) May 26, 2022
सरकारी अधिकारी खिरवारले भने आफूमाथि लागेको आरोप निराधार भएको भन्दै स्पष्टीकरण दिएका छन्। ‘म कुकुरसँग ट्र्याकमा विरलै जान्छु। खेलाडी नहुँदा मात्रै जान्छु। कुनै पनि खेलाडीलाई रंगशाला छोड्न भनेको छैन। कोही नभएको बेला कुकुरलाई पनि ट्र्याकमा छोड्छु। यदि यो आपत्तिजनक छ भने, म यसलाई बन्द गर्नेछु,’ उनको भनाइ उधृत गर्दै एनडिटिभी डट इनले लेखेको छ।
यो घटनापछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सहरका सबै सरकारी खेल केन्द्रहरूलाई राति १० बजेसम्म खुला राख्न निर्देशन दिएका छन्।
यो घटनालाई लिएर राजनीतिक वृत्तमा पनि चासो बढेको छ। दिल्ली भाजपा प्रदेश अध्यक्ष आदेशकुमार गुप्ताले सञ्जीव खिरवारलाई कारबाही गर्न माग गरेका थिए।
यस्तै कांग्रेस सांसद मनिष तिवारीले केन्द्रीय कर्मचारी प्रशिक्षण विभाग (डीओपीटी) मन्त्री डा जितेन्द्र सिंहलाई ‘यी अधिकारीहरूलाई कारबाही गरेर उदाहरण बसाउन’ माग गरेका थिए।