काठमाडौं ।
सिंगापुरीमूलका अष्ट्रेलियन खेलाडी टिम डेविडले १५ औं सिजनको आईपीएल मुम्बई इन्डियन्सबाट खेले । सुरुवाती खेलमा फ्लप भए पनि अन्तिमतिर भने उनले शानदार ब्याटिङ गरे । डेविडले डेब्यू आईपीएलमा ८ खेलमा २१६.२७ को शानदार स्ट्राइक रेटमा १८६ रन बनाए ।
विभिन्न लिगहरूमा शानदार प्रदर्शन गरिरहेका उनले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने चर्चासमेत हुन थालेको छ । डेविडले अष्ट्रेलियाबाट क्रिकेट खेल्नेबारे कप्तान आरोन फिन्चले पनि प्रतिक्रिया दिएका छन् । उनले डेविड अष्ट्रेलिया टिममा समावेश हुनसक्ने संकेत गरेका छन्
फक्स क्रिकेट न्युजसँगको कुराकानीमा फिन्चले भनेका छन्, ‘टिम डेविड निकै राम्रो लयमा छन्। आईपीएलको पछिल्ला केही खेलहरू उनका लागि धेरै राम्रो थिए। उनले छिटो ब्याटिङ गरे। टिम डेविडसँग ब्याटिङको राम्रो सीप छ। उनी निरन्तर राम्रो प्रदर्शन गर्ने खेलाडी हुन् । हामी पक्कै पनि उनको बारेमा सोच्नेछौं ।’

डेविडले सिंगापुरबाट भने अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले त्यहाँबाट १४ टी–२० मा चार अर्धशतकको मद्दतमा ५५८ रन बनाएका छन् । सिंगापुरमा जन्मिए पनि २६ वर्षीय डेविडले अष्ट्रेलियामा क्रिकेट सिकेका हुन् । उनले अहिलेसम्म आईपीएलबाहेक बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पिएसएल)लगायत विभिन्न क्रिकेट लिग खेलिसकेका छन् ।
फिन्चले आफ्नो खराब प्रदर्शनकारे पनि प्रतिक्रिया दिएका छन् । उनले फर्ममा फर्कन प्राविधिक पक्षमा काम गरिरहेको बताए । फिन्चले टी–२० विश्वकपअघि आफ्नो गुमेको लय फर्काउने पूरा कोसिस गर्ने बताए । आसन्न टी–२० विश्वकप आउँदो अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुँदैछ ।
