काठमाडौं ।
एकदिवसीय सिरिजको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध पाहुना टोली भारत १० विकेटले विजयी भएको छ। जिम्बाब्वेले दिएको १ सय ९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको हो। यस जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ।
आज भारतको यो कीर्तिमानी जित हो। जिम्बाब्वेविरुद्ध भारतले लगातार दुई खेलमा १० विकेटको जित निकाल्न सफल भएको छ। यसअघि सन् २०१६ मा भएको तेस्रो एकदिवसीयमा पनि भारत १० विकेटले नै विजयी भएको थियो।
भारतको जितमा ओपनरद्वय शुभमन गिल र शिखर धवनले शानदार ब्याटिङ गरे। गिलले ७२ बलमा १० चौका र १ छक्कासहित नटआउट ८२ रनको योगदान दिए। गिलको तेस्रो एकदिवसीय अर्धशतक हो। धवनले १ सय १३ बलमा ९ चौकाको मद्दतमा अविजित ८१ रन जोडे। धवनको यो एकदिवसीय करियरको ३८औँ अर्धशतक हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको जिम्बाब्वेले ४०.३ ओभरमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो। उसका लागि कप्तान रेजिस चकाब्वाले ३५, रिचर्ड नागरावाले ३४, ब्राड इभान्सले ३३, लुक जोंगवेले १३, सिकन्दर राजाले १२ र रायन बर्लले ११ रनको योगदान दिए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
भारतका लागि अक्षर पटेल, दीपक चाहर र प्रसिद्ध कृष्णाले ३–३ तथा मोहम्मद सिराजले १ विकेट लिए। यी दुई देशबीचको दोस्रो एकदिवसीय म्याच शनिबार हुनेछ। सन् २०१६ पछि दुई देश एकअर्का विरुद्ध सिरिज खेलिरहेका हुन्। त्यतिबेला भएको तीन खेलको एकदिवसीय सिरिजमा भारतले जिम्बावेलाई ३–० ले हराएको थियो ।