काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ ।
नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो । सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको हो।
प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताएका छन्। अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुमा टोलीको एक्सपेरियन्सलाई दोष दिएनन्।
‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने। नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन।

















