जहाज अवतरण गर्दा अपनाइने ‘फोर्स ल्याण्डिङ’ के हो, कसरी गरिन्छ?

काठमाडौं – सोमबार बुद्ध एयरको एटिआर ७२ जहाज विराटनगरमा अवतरण गर्न सकेन। पाइलटले जहाजलाई काठमाडौं फर्काए।

बुद्ध एयरको भनाइमा चालक दलले ल्याण्डिङ गियर चलाउँदा पांग्रामा समस्या देखिएको थियो। जहाजका दुईमध्ये प्रमुख इन्डिकेटरले संकेत नदेखिएको बुद्ध एयरको भनाइ छ।

काठमाडौंको आकाशमा झन्डै दुई घन्टा घुमेको जहाज अन्तिममा फोर्स ल्याण्डिङ गर्ने तयारी गरिएको थियो। उक्त जहाज अन्तिममा सामान्य रूपले अवतरण भएपछि ठूलो संकट टरेको छ।

बुद्ध एयरको उक्त जहाजको ल्याण्डिङ गियर नखुलेको भए फोर्स ल्याण्डिङ गर्नुपर्थ्यो।

फोर्स ल्याण्डिङ के हो, कसरी गरिन्छ भन्नेबारे हामीले पाइलट दीपुराज ज्वार्चनलाई सोधेका थियौं। ज्वार्चन नेपाल एयरलाइन्सको एयरबस ३२० जहाजका क्याप्टेन हुन्।

उनका अनुसार जहाजमा फोर्स ल्याण्डिङ एकदमै कम हुन्छ। कहिले चक्का माथि नजाने, कहिले तल नझर्ने वा झरेर पनि ‘लक’ नभएको अवस्था हुनसक्छ, त्यो एकदमै विरलै हुन्छ।

ल्याण्डिङ गियरको अवस्थाबारे जानकारी दिन ककपिटमा ‘लाइट’ हुन्छ, जसको ‘इन्डिकेसन’ आधारमा पाइलटले ह्विल ‘डाउन एन्ड लक’ भए नभएको निश्चित गर्छन्।

‘बुद्ध एयरको जहाजमा ह्विल डाउन एन्ड लक भए/नभएको इन्डिकेसन चालकले नपाएको बुझिन्छ,’ उनले भने।

ज्वार्चनका अनुसार यस्तोमा ‘फोर्स ल्याण्डिङ’ वा ‘डिचिङ’ दुई वटा विकल्प हुन्छन्। दुबै जोखिमपूर्ण हुन्।

फोर्स ल्याण्डिङ खाली मैदान वा सुविधासम्पन्न विमानस्थलमा गरिन्छ भने ‘डिचिङ’ पानीमा गरिन्छ। पानीमा अवतरण गराउनुको उद्देश्य जहाजमा आगो नलागोस् भनेर हो।

घनाबस्ती वा नजिकै सुविधा सम्पन्न विमानस्थल नभएको खण्डमा ‘डिचिङ’मार्फत् अवतरण गराइन्छ, यसका लागि समुद्र भएको क्षेत्र उपयुक्त मानिन्छ। समुद्र भएका मुलुकमा प्राय: ‘डिचिङ’ गरिन्छ।

‘जहाजलाई सकुशल अवतरण गर्न नसकिने छ भने जोखिमयुक्त तरिकाले अवतरण गराउने प्रयत्न गरिन्छ, जसमा यी दुई विधि अपनाइन्छ,’ ज्वार्चनले सेतोपाटीसँग भने।

उनका अनुसार पांग्राले काम दिने/नदिने अनिश्चय भएका कारण सकेसम्म कम क्षति गर्न र आगलागी हुन नदिने तरिकाबाट जहाजलाई अवतरण गराइन्छ।

त्यसका लागि सबैभन्दा पहिलो विकल्प जहाजको इन्धन कम गराएर हल्का बनाउने हो। दोस्रो, पानी भएको ठाउँ खोज्ने हो। त्यो तत्काल सम्भव छैन भने अवतरण गराउने सुविधासम्पन्न विमानस्थल वा मैदान हो।

यसका लागि अवतरण गराउने ठाउँमा फोमहरू बिछ्याउने, पानी प्रशस्त राख्ने, दमकल तयारी अवस्थामा राख्ने गरिन्छ।

‘अवतरण गर्दा चक्काले काम नदिएपछि जहाज बजारिन पुग्छ, बजारिएर तुरुन्तै आगो लाग्न सक्छ,’ ज्वार्चन भन्छन्।

उनका अनुसार कुन चक्का नखुलेको हो जहाज त्यतापट्टि ढल्किन पनि सक्छ। सोमबार बुद्ध एयरको जहाज कतै पनि नढल्किकन सकुशल अवतरण भएको थियो।

‘यसको मतलब जहाजको ह्विल खुले पनि चालकले त्यसको अवस्थाबारे इन्डिकेसन पाएनन् र उनीहरूले त्यही अवस्थामा जोखिम मोलेर अवतरण गर्न चाहेनन्,’ उनले भने, ‘आवश्यक तयारी गरेर अवतरण गराउँदा सबै गियरले काम गरेको देखियो।’

यस्तो अवस्था आउँदा विमान चालक र परिचालिकाबीच अवतरणको योजना बनाइन्छ। उनीहरूले मिलेर कम जोखिम गराई अवतरण गर्ने प्रयत्न गर्छन्।

यस्तो बेला यात्रुलाई सम्हाल्न सक्नु, आफैं सम्हालिनु र जहाजलाई सुरक्षित राखी अवतरण गराउने सबै चुनौती पार लगाउनु चालक दलको ‘कौशल’ हो।

ज्वार्चन आफूले अहिलेसम्म यस्तो समस्या नभोगेको बताउँछन्।

‘इन्डिकेसनका लागि एकपछि अर्को ब्याकअप हुन्छ, यस्तोचाहिँ बिरलै हुन्छ,’ उनले भने। यस्तो अवस्था आउन नदिन उड्नुअघि जहाजका सबै लाइटको परीक्षण हुने गरेको उनी बताउँछन्।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले धावनमार्ग नजिकै जहाज आए ल्याण्डिङ गियर तल झरेको/नझरेको भन्न सक्छ तर त्यो लक भएको छ कि छैन भन्ने यकिन गर्न सक्दैन।

‘चक्का माथि लैजाने, झार्ने, झरेको कन्फर्म गर्ने, हेर्दा झुन्डिएको भए पनि चक्का लक भएको छ वा छैन सबै इन्डिकेसन ककपिटमा लाइटले दिन्छन्,’ उनले भने, ‘कहिलेकाहीँ ह्विल डाउन एन्ड लक भए/नभएको कन्फरमेसन नहुँदा यस्तो समस्या देखिन्छ।’

बुद्ध एयरको जहाज सकुशल अवतरण भएपछि ७३ यात्रु अप्रिय घटनाबाट जोगिए।

ज्वार्चनले चालक दलको धैर्यता र उत्कृष्ट कौशलले पनि बुद्ध एयरको जहाज ठूलो जोखिमबाट जोगिएको बताए। -रातोपाटिबाट

याे पनि हेर्नुस्
Loading...