सबै भन्दा कम उमेरका खर्बपति जुकरबर्ग दिएका सफलताका १० सूत्र

मार्क जुकरबर्ग फेसबुकका संस्थापक तथा परिकल्पनाकार हुन्

३४ वर्षीय अमेरिकी युवा जुकरबर्ग पछिल्लो समयमा सबैभन्दा कम उमेरका खर्बपति बनेका छन् ।

फेसबुकबाट मात्रै उनी वार्षिक ४६ खर्ब ३४ अर्ब रुपैयाँ आम्दानी गर्छन् । उनीसँग अहिले एक सय ५० खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको स्रोत बताउँछ ।

कलिलो उमेरमै सफलता हासिल गरेका उनै फेसबुकका जन्मदाता जुकरबर्गले आफूजस्तै सफल व्यवसायी हुन अरूलाई सुझाब दिएका छन् ।

उनका १० सुझाब यस्ता छन् :

१. महत्वाकांक्षी हुनुहोस्, सकेसम्म ठूलै सपना देख्नुहोस्
केही कुरा तपाईंकै पालामा निर्माण गर्नुहोस् । ताकि, त्यसले संसारलाई केही सकारात्मक परिवर्तन गर्न सहयोग पुर्‍याओस् । जसबाट आउने पुस्ताले पनि प्रेरणा लिऊन् ।

केही गर्ने मार्गदर्शक सिद्धान्तहरू तयार पार्नुहोस् । सानै भए पनि काम गर्नुहोस् । तर, सधैँ ठूलो सोच राख्नुहोस् । सपना पनि सधैँ विशाल देख्नुहोस् । आममानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् । उनीहरूलाई पनि यसमा जोड्नुहोस् ।

२. सुपर भावुक हुनुहोस्
तपाईं केही विशेष काम गर्न सक्ने मानिस हो भन्ने सधैँ मनमा राख्नुहोस् । एकैचोटि ह्वात्तै धेरै पैसा आउने कामतिर मात्र ध्यान नदिनुहोस् । तपाईंले गर्ने काम जस्तोसुकै सानो या ठूलो किन नहोस्, मात्र तपाईं त्यो कामप्रति प्यासोनेट हुन जरुरी छ ।

त्यसप्रति इमानदार पनि हुनुहोस् । एक दिन तपाईं अवश्य सफल हुनुहुनेछ, खासगरी आइटी संसारमा, जहाँ निरन्तर नयाँ विचारहरू आउँछन् र लामो समयसम्म प्रयोग गरिन्छ ।

३. सीमा आए भत्काउनुहोस्, अघि बढ्नुहोस्
तपाईं बसेको समाज तपाईंलाई राम्रो र विशेष लागिरहेको हुन सक्छ । तर, यदि तपाईंले चाहने हो भने त्योभन्दा पनि राम्रो संसार सिर्जना गर्न सक्नुहुनेछ । तपाईं बसेको समाज मात्र नभएर संसारै बदल्ने साहस राख्नुहोस् । तर, अरूको नक्कल (कपी) नगर्नुहोस् ।

पूरै विश्वलाई फाइदा पुग्ने काम गर्ने आँट गर्नुहोस् । यसका लागि जोखिम आए मोल्न पछि नपर्नुहोस् । यसैबीच, सीमाहरू आए तोड्नुहोस् । बाधा आए भनेर आफ्नो व्यवसायलाई साँघुरो घेरामा नखुम्च्याउनुहोस् । यस्तो सम्भव छ ।

आममानिसको अवधारणा परिवर्तन गराएर भए पनि तपाईंले आफ्नो सही उद्देश्यलाई सफल बनाउन सक्नुहुनेछ ।

४. तपाईंले गरिरहेको सबैभन्दा महत्वपूर्ण काम गर्नुहोस्
‘मैले सबैभन्दा महत्वपूर्ण कुरा (काम) गरिहेको छु । के म सधैँभरि यसरी नै गरिहन सक्छु ?’ हरेक दिन आफैँले आफैँलाई प्रश्न गर्नुहोस् । तपाईंले गरिहेको काम सबैभन्दा समस्याको काम (महत्वपूर्ण) होस् भन्ने फिल गर्नुहोस् ।

यो काम देश र समाजका लागि नगरी नहुने छ भन्ने सोच राख्नुहोस् । सफल नभएसम्म आनन्द नलिनुहोस् ।

५. मिहिनेत र कडा परिश्रम गर्नुहोस्
त्पाईंले देखेको सपना वास्तविकतामा परिणत गर्न सम्भव भएसम्म सबै इफर्ट लगाउनुहोस् । कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ ।

त्यसैले कडा परिश्रम गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ । आफ्नो लक्ष्य पूरा गर्न केही कुरा त्याग गर्नसमेत तयार हुनुहोस् ।

६. आफैँलाई विश्वास गर्नुहोस्, काममा एकाग्र हुनुहोस्
तपाईं आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् । अरूलाई आफूप्रति नकारात्मक भावना आउन नदिनुहोस् । आफू सही बाटोमा हिँडेपछि कसैको पनि परवाह नगर्नुहोस् ।

आफ्नो व्यवसायबारे अपडेट हुँदै व्यवसायको व्यवस्थापनमा ध्यान दिनुहोस् । आफ्ना ग्राहकलाई सधैँ मूल्यवान् सम्झिनुहोस् । आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस् । यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नुहोस् ।

७. लचिलो हुनुहोस्, परिवर्तन गर्न इच्छुक हुनुहोस्
व्यवसाय भनेको परिवर्तनशील हुन्छ । हरेक दिन नयाँ उत्पादन ग्राहकले खोज्छन् । यसो भन्दै गर्दा पुराना उत्पादनलाई पनि बोझ नसम्झिनुहोस् । आफ्नो व्यवसायलाई प्रत्येक दिन तपाईं फ्रेस आँखाले हेर्नुहोस् । बिस्तारै सुधार गर्दै जानुहोस् । नयाँ क्रान्तिका लागि अघि बढ्नुहोस् ।

८. सधैँ दबाबमा रहनुहोस्
तपाईं एउटा उद्यमी हो । भित्री र बाहिरी दुवै रूपमा तपाईंसँग सधैँ स्पष्ट मार्गचित्र र अदम्य साहस हुनैपर्छ । तपाईंको यही क्षमताले दबाबबीच पनि माथि उठ्न मद्दत गर्छ ।

जति तपाईं आफूले केही गर्नुपर्छ भन्ने दबाब महसुस गर्नुहुन्छ, त्यति नै अघि बढ्नुहुन्छ ।

९. वेलैमा काम सक्नुहोस्, पर्फेक्ट नै हुनुपर्दैन
तपाईं केही काम सक्नुहोस् । यो पर्फेक्ट नहोला । तर, तपाईंले समयमै सक्नुभयो भने त्यो नै सर्वोच्च काम हुनेछ ।

संसारमा अहिलेसम्म कोही र केही पनि पूर्ण छैन । तसर्थ, आफ्नो तर्फबाट बेस्ट काम गर्ने प्रयास गरे पुग्छ । सबैको चित्त बुझाउने पर्फेक्ट काम गर्नैपर्छ भन्ने जरुरी छैन ।

यदि तपाईंले कुनै काम सकाउनुभयो भने एक दिन त्यो काम तपाईंले पर्फेक्ट तरिकाले पनि त गर्न अवश्य सक्नुहुनेछ । यही मनन गर्नुहोस् ।

१०. सामान्य जीवनशैलीमा रहनुहोस्
यदि तपाईं अर्बपति हुनुभयो भने पनि फर्जी खर्च नगर्नुहोस् । अनावश्यक भड्किला सामग्री, महँगा कार, भव्य महल खरिद या प्रयोग गर्नतिर नलाग्नुहोस् ।

सधैँ आफ्नो कम्पनीलाई माथिल्लो स्तरमा पुर्‍याउने भन्ने मात्र धाउन्न राख्नुहोस् । यसका लागि तपाईंको निवास पनि सकेसम्म कम्पनीकै परिसरमा होस् ।

याे पनि हेर्नुस्
Loading...