मन्दिरमा भएको आक्रमणपछि कस्तो छ बंगलादेशका हिन्दुहरूको अवस्था ?

बीबीसी । धेरै हिन्दुको जस्तै बोनोलता दासको विश्वास थियो कि मन्दिर सुरक्षित र पवित्र स्थान हो ।

आफ्नो २१ वर्षे छोरा प्रान्त चन्द्र दास (जो कलेजका विद्यार्थी पनि हुन्) लाई गत हप्ता बंगलादेशको दक्षिणपूर्वी नोआखली जिल्लाको एक मन्दिर परिसरमा रहन अनुमति दिँदा उनी चिन्तित थिइनन् ।

तर, विपत् आइलाग्यो । मुस्लिम बहुल राष्ट्रका सैयौँ धार्मिक कट्टरपन्थीहरूले उनको छोरालाई मर्नेगरी कुटपिट गरी हत्या गरे ।

“मेरो कान्छो छोरो मेरो हृदयको निकै नजिक थियो । उसको मृत्युपछि मैले मेरो मुटु गुमाएको छु । सबथोक गुमाएको छु,” बोनोलताले क्वाँक्वाँ रुँदै भनिन्।
उनका छोरा कामिल्ला सरहमा हिन्दुको धार्मिक पर्व दुर्गा पूजाको लागि तयार पारिएको मण्डपमा कुरानको अपमान गरेको अफवाह फैलिएपछि भड्किएको भिडको हिंसाको शिकार भए ।

सामाजिक सञ्जालमा अफवाह फैलिएको केही घण्टामै सैयौँ मुस्लिम कट्टरपन्थीहरूले कोमिल्लामा हिन्दु धार्मिक मंडपहरूलाई लक्षित गरी हमला गरे । उत्तिखेरै, बंगलादेशका अन्य भागमा पनि हिंसा फैलियो । मन्दिरहरूलाई उजाड गरियो र हिन्दु अल्पसंख्यकका सैयौँ घर र व्यवसायमा आगो लगाइयो । हिंसाका दिनहरूमा दुई जना हिन्दुसहित सात जना मारिए र धेरै घाइते भए । उग्र भिडको नियन्त्रण गर्न प्रहरीले केही स्थानमा गोली चलायो र अश्रु ग्यास प्रयोग गर्‍यो ।

इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कोन)ले सञ्चालन गरेको मन्दिरमा आक्रमण भएको सुनेपछि दास र उनको परिवारले हतारहतार छोराको खोजी गरे । छोराको शव एकदिनपछि नजिकैको पोखरीमा फेला पर्‍यो । “शवमा थुप्रै चोटपटक लागेको थियो,” उनले भनिन् ।

“थप आक्रमणको डरले हामी घर जान डराएका छौँ,” उनले भनिन्, “अहिले म मन्दिरमै बसिरहेकी छु ।”

बंगलादेशको १६ करोड ५० लाख जनसंख्यामध्ये हिन्दुहरू ९ प्रतिशत भन्दा कम छन् । धार्मिक अल्पसंख्यकमाथि विगतमा पनि थुप्रै आक्रमणहरू हुने गरेको भएपनि देशको इतिहासमै यो ठुलो मात्रामा सबैभन्दा खराब आक्रमण भएको समुदायका नेताहरू बताउँछन्।

 

“यो हिन्दु समुदायमाथिको पूर्वनियोजित आक्रमण थियो,” कोमिल्ला नगरका हिन्दु पर्व समितिका प्रमुख अचिन्त दासले भने । उनले ‘हिन्दुले कुरान जस्तो धार्मिक पाठमा ठेस पुर्‍याउँछन्’ भन्ने कुरा अस्वीकार गरे ।

मन्दिरमा आक्रमण भएको एकदिनपछि प्रधानमन्त्री शेख हसिनाले आक्रमणकारीलाई पत्ता लगाएरै छोड्ने भन्दै हिंसाको निन्दा गरिन् ।

“हामीले विगतमा पनि यसो गरेका छौँ र भविष्यमा पनि गर्नेछौँ,” उनले भनिन्, “उनीहरूले उपयुक्त सजाय भोग्नैपर्छ ।”

उनको चेतावनीको बाबजुद बंलगादेशका अरू भागहरूमा पनि हिंसा फैलियो, जसले अल्पसंख्यक समुदायका सदस्यहरूलाई त्रास र पीडा दिइरहेको छ । एक समय त हिंसा नियन्त्रण गर्न २२ जिल्लामा सुरक्षा बलसमेत परिचालन गर्नुपर्‍यो ।

हिंसा सुरु भएको झण्डै एक हप्तापछि हिन्दुहरूले इस्लामको पवित्र स्थललाई अपमान गरेको आरोप लगाइएको सामाजिक सञ्जालको अर्को पोस्टका कारण उत्तरी बंगलादेशमा हिन्दुका दर्जनौँ घरहरू जलाइयो ।

“जब हामीले भिड आइरहेको सुन्यौँ, आफूहरूलाई बचाउन म मेरा दुईजना बालबच्चासहित धानखेतमा लुक्न भागेँ,” रङ्गपुर जिल्लाको विरगंजकी नन्दा रानीले भनिन्, “त्यहाँबाट हामीले भीडले हाम्रो घरमा आगो लगाएको देख्यौ । त्यो पूरै नष्ट भयो । अहिले हामी पालमुनि बसिरहेका छौ ।”

बंगलादेशका गृहमन्त्री असदुज्जमन खानले सैयौँ मानिसहरूलाई पक्राउ गरिएको र अनुसन्धान सुरु गरिएको बताएका छन् । देशका विभिन्न स्थानमा र विगतमा भएका क्रुर घटनाहरूको भिडियो राखेर मानिसहरूले जानाजान प्रोपगन्डा फैलाइरहेको उनले बताए ।

इस्लामिस्ट (इस्लामवादी) आन्दोलनका नेताहरूले आफूहरू कुनै पनि अल्पसंख्यकहरू विरुद्धको हिंसाको विरुद्धमा रहेको बताएका छन् ।

“ती मन्दिरहरूमा आक्रमण गर्नेलाई सजाय दिइनुपर्छ । हामी सबै शान्ति र सद्भावपूर्वक बस्नुपर्छ,” इस्लामिक राजनीतिक दल बंगलादेश खिलाफत आन्दोलनका उपप्रमुख मौलाना मुजिबुर अमिदीले बताए ।

तर, अमिदीसहितका मुस्लिम नेताहरूले इस्लामलाई अपमान गर्ने विरुद्ध कडा कारबाही गर्न सार्वजनिक रूपमा आह्वान गरेका छन् ।

बंगलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि धर्मनिरपेक्षतामा गर्व गर्ने गरेको छ । यद्यपि, संविधानले इस्लामलाई राज्य धर्मको रूपमा परिभाषित गरेको छ । उसले धर्मनिरपेक्षताको सिद्धान्तलाई पनि समर्थन गर्दछ ।

तर, विश्लेषकहरूले कट्टरपन्थी इस्लामिक समूहहरूले प्रख्याति कमाइरहेको र सन् २००८ देखि सत्तामा रहेको सत्तारूढ दल अवामी लिग बढ्दो धार्मिक असहिष्णुता र कट्टरपन्थसँग जुध्न असफल भएको बताउँछन् ।

“विशेषगरी संकुचित प्रजातान्त्रिक व्यवस्थाको पछाडि सरकारले राजनीतिक लाभको लागि कट्टरपन्थी शक्तिसँग सम्झौता गरेको छ,” प्रबुद्ध अर्थशास्त्री देवप्रिय भट्टाचार्यले भने, “परिणामस्वरूप कट्टरपन्थीहरूले प्रसिद्धि, पहिचान र प्रभाव जमाइरहेका छन् ।”

यस उपमहाद्वीपमा धार्मिक हिंसाको लामो इतिहास छ । त्यसका लागि १९४७ मा फर्किनुपर्छ, जब ब्रिटिस इन्डिया हिन्दु बाहुल्य भारत र मुस्लिम बाहुल्य पाकिस्तानमा विभाजत भयो ।

१९७१ मा बंगलादेश, (तत्कालीन पूर्वी पाकिस्तान) रक्तपातपूर्ण युद्धपछि पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्‍यो । भारतले बंगलादेशको स्वतन्त्रता सङ्ग्रामलाई सहयोग गर्न आफ्नो फौज पठाएको थियो ।

दक्षिण एसियामाथि अझै त्यो विभाजनको छाया मडारिरहेको छ ।

“बंगलादेशमा हिन्दु समुदायमाथि दसकौँदेखि योजनाबद्ध रूपमा हमला भइरहेको छ,” बंगलादेशको हिन्दु, बुद्धिस्ट एन्ड क्रिश्चियन युनिटी काउन्सिलका महासचिव राना दासगुप्ताले भने, “हिन्दुका घरहरू र जमिन कब्जा गर्न त्यहाँ संगठित प्रयास हुन्छ, जसले गर्दा उनीहरू देश छोड्न बाध्य भइरहेका छन् ।”

हिन्दु समुदायका नेताहरू सन् १९४७ मा ३० प्रतिशत रहेको आफूहरूको जनसंख्या अहिले ९ प्रतिशत भन्दा कममा झरेको बताउँछन् । अधिकांश छिमेकी भारतमा पलायन भएका छन् ।

अधिकारवादी अभियान्ताहरूले सरकारहरू धार्मिक अल्पसंख्यकमाथि बारम्बार हुने आक्रमण विरुद्ध तत्काल कारबाही गर्न असफल भएको बताउँछन् ।

“जब अल्पसंख्यकको संरक्षणको कुरा आउँछ तब उचित छानबिनको अभावले एउटा प्रारूप मात्र देखाउँदैन आत्मसन्तुष्टि पनि देखाउँछ,” एमनेन्टी इन्टरनेसनलका लागि दक्षिण एसिया अभियान्ता साद हम्मादीले बताए, “कथित द्वन्द्वहिनता र प्रभावकारी समाधानको अभावमा सामुदायिक हिंसा बारम्बार भइरहेको छ ।”

बंलगादेशका कानुनमन्त्री अनिसुल हकले अल्पसंख्यकमाथि भएका आक्रमणहरूको अनुसन्धानमा कुनै प्रगति नभएको कुरा अस्वीकार गरे । “ती सबै घटनाहरूको अनुसन्धान भइरहेका थिए । यस्ता मुद्दाहरूमा अनुसन्धानले केही समय लिन्छ । हामीले सम्भव भएसम्म अनुसन्धानको गतिलाई बढाउन प्रयास गरिरहेका छौँ,” हकले भने।

 

उनले इस्लामिस्टहरूलाई सरकारले खुसी बनाइरहेको आरोप पनि अस्वीकार गरे । “त्यस्तो कुनै पनि धारणा सही होइन । हामी सबै धर्मका सदस्यहरू मिलेर सद्भावपूर्वक बसेको हेर्न चाहन्छौँ ।”

केहीले हिन्दु राष्ट्रवादी बीजेपी पार्टी अन्तरगत सीमापारी भारतमा बढिरहेको मुस्लिम विरोधी भावना पनि कट्टरपन्थी बंलगादेशी मुस्लिमलाई क्रोधित बनाउन आंशिक रूपमा जिम्मेवार भएको बताउँछन् ।

बीजेपीले बंगलादेशबाट आप्रवासनको डर पैदा गरेको छ, जसले ढाकामा क्रोध पैदा गरेको छ र भारतका हिन्दु कट्टरपन्थीहरूले आप्रवासीहरूलाई बंगलादेश फिर्ता गर्न आग्रह गरेका छन् ।

“भारतमा जे भइरहेको छ–धार्मिक अल्पसंख्यकहरूमाथिको व्यवहार–धेरै दुर्भाग्यपूर्ण छ । केहीले यसलाई बंगलादेशमा अल्पसंख्यकहरूमाथि दमन गर्न बहाना बनाएका छन्,” अर्थशास्त्री भट्टाचार्यले भने ।

“तर, आफ्ना नागरिकलाई उचित रूपले व्यवहार गर्नु, उनीहरूको अधिकारको रक्षा गर्नु र उनीहरूको सुरक्षा गर्नु प्रत्येक सरकारको कर्तव्य हो,” उनले भने ।

बीबीसीबाट ।

याे पनि हेर्नुस्
Loading...