बैतडी : बैतडीमा चालु आर्थिक वर्षमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। तीमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्रसिंह कार्कीका अनुसार गत आर्थिक वर्षमा २ सय ३ जना क्षयरोगी फेला परेका थिए भने यस वर्ष हालसम्म ८७ जनामा क्षयरोग पुष्टि भएको छ।
नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसै अवधिमा क्षयरोगका कारण ३ जना पुरुषको मृत्यु भएको पनि उल्लेख गरिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टका अनुसार जिल्लामा क्षयरोग पहिचानका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी अभियानलाई तीव्र पारिएको छ। तर अपेक्षाकृत रूपमा नयाँ बिरामी पहिचान हुन नसकेको उहाँले बताउनुभयो।
त्यसैगरी बैतडीको सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
















