ओमानलाई ११३ रनले हराउँदै नेपालले रच्यो शानदार जितको इतिहास

Image

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको छ। मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

ओमानले १२औँ ओभरसम्म ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि विनायक शुक्ला र जय ओडेराले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। ओडेरा २५ रन बनाएर आउट भए। त्यसपछि ओमानले थप २२ रन जोड्दा बाँकी तीन विकेट पनि गुमायो।

नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पाण्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए। अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसलविरुद्ध पनि छक्का प्रहार गरे।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २–२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए।

यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा ३४ खेलबाट २८ अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा रहेको छ भने ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।

नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।