बैतडी : बैतडीका १० वटै स्थानीय तहमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप कार्यक्रम सुरु भएको छ। स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार यो अभियान फागुन २ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममै समावेश गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष जिल्लामा २ हजार ४ सय ५३ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। गत वर्ष भने यो कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिएको थियो।
यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरी, गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको छ।
गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका गरी १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो। स्वास्थ्य कार्यालयले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै निर्धक्क भएर खोप लगाउन आग्रह गरेको छ।
















