बैतडी: बैतडीका विभिन्न खानेपानी मुहानमा स्वास्थ्यका लागि जोखिमपूर्ण ‘कोलिफर्म’ जीवाणु फेला परेको छ। स्वास्थ्य कार्यालय बैतडीले ९ स्थानीय तहका १६४ वटा खानेपानी मुहान, धारा र ट्याङ्कीबाट संकलित नमूनाको परीक्षण गर्दा ३८ वटा मुहानमा कोलिफर्म भेटिएको जनाएको छ।
सबैभन्दा बढी समस्या पुर्चौडी नगरपालिकामा देखिएको छ। त्यहाँ परीक्षण गरिएका ३२ नमूनामध्ये १५ मा कोलिफर्म फेला परेको छ। यस्तै पाटनमा १३ मध्ये ९, सिगासमा १५ मध्ये ७, दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयामा २० मध्ये १ मुहान दुषित भेटिएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार कोलिफर्म दिसामा पाइने जीवाणु हो, जसले खानेपानी प्रदूषित भएको संकेत गर्छ। मुहानको सरसफाइ अभाव, उचित ढल निकास नहुनु तथा ढलको पानी मिसिनु यसको मुख्य कारण रहेको बताइएको छ।
स्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई खानेपानी सुरक्षा योजना लागू गर्न, मुहान तथा धाराहरूको नियमित सरसफाइ गर्न र उपभोक्तालाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ।
दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँ जस्ता सरुवा रोगको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
















