काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) बैतडीका वर्तमान सदस्य प्रेम सिंह भाट सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले आयोजना गरेको संस्थागत नेतृत्व विकास तालिमका लागि यही माघ ११ गतेदेखि २६ गतेसम्म काठमाडौँ आउनु भएको थियो।
देशभरका सबै प्रदेशबाट करिब १०० भन्दा बढी सहभागी रहेको उक्त तालिममा उहाँ पाटन नगरपालिका वडा नं. ९ स्थित श्री ओखलेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. बाट प्रतिनिधित्व गर्दै माघ १० गते काठमाडौँ आइपुग्नु भएको थियो। तालिमका प्रारम्भिक दिनहरू सहज र रमाइलो रूपमा बितिरहेका थिए भने बसाइँ र खानपिन पनि सामान्य नै रहेको बताइएको छ।
तर, माघ २२ गते बिहान करिब ८:३० बजे घाम ताप्दै साथीहरूसँग कुराकानी गरिरहेका बेला उहाँलाई अचानक हाछ्युँ आयो र रिङ्गटा लागी भुइँमा ढल्न लाग्दा संगैका तालिम सहभागीहरूको सहयोगमा ढल्नबाट जोगिन सफल हुनु भयो। त्यसलगत्तै उहाँलाई सिभिल अस्पताल भर्ना गरिएको थियो।
सिभिल अस्पतालमा सिटी स्क्यान (CT Scan) र एमआरआई (MRI) जस्ता आवश्यक परीक्षण सुविधा उपलब्ध नभएकाले आफन्त, इष्टमित्र तथा साथिभाइहरूको सहयोगमा उहाँलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल (KMC) मा भर्ना गरिएको हो। हाल उहाँ KMC को HDU Unit (उच्च निर्भरता एकाइ) मा उपचाररत रहनु भएको छ।
CT Scan र MRI परीक्षणपछि अस्पतालले उहाँको दिमागमा रगत जमेको र मस्तिष्कघात (Brain Stroke) भएको पुष्टि गरेको छ। अवस्थाको जटिलतालाई मध्यनजर गर्दै थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आउन सक्ने अस्पतालले जनाएको छ। साथै, मस्तिष्कघातसम्बन्धी थप रगत परीक्षण गर्नुपर्ने भएकाले उक्त परीक्षण नेपालमा उपलब्ध नभएकाले नमुना भारत पठाइएको जानकारी उहाँका भान्जा बिरेन्द्र बिष्टले दिएका छन्।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय भाट नेपाल पत्रकार महासंघ बैतडी शाखा तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। हाल पनि उहाँ ६/७ वटा संघ–संस्थामा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ।
उहाँसँग नजिकबाट काम गरेका सहकर्मीहरूका अनुसार समाज रूपान्तरण र सामाजिक सद्भावको प्रेरणादायी व्यक्तित्वका रूपमा भाट परिचित हुनुहुन्छ। देख्दा ठाडो स्वभाव देखिने भए पनि उहाँको हृदय अत्यन्तै कोमल रहेको उहाँकी जीवनसंगिनी चन्द्रावती भाट बताउभयो।
सानै उमेरमा आफ्नै बुबाबाट सामाजिक कार्य र मानव सेवा नै सत्कर्म हो भन्ने प्रेरणा पाएका भाटले झण्डै २४ वर्षभन्दा बढी समय सामाजिक सेवामा समर्पित गरेको छरछिमेकी बताउँछन्।
उहाको बसोबास गरेको गाउँठाउँमा खानेपानी, बिजुलि बत्ती, सडक बाटोघाटो, मठमन्दिरहरुको निर्माण एवं स्तरोन्नति गरिएकोमा उहाको संलग्नतामा रहेको देखिन्छ । अहिले पनि उहाले दुई वटा सामुदायिक बिद्यालय, एक वटा प्रास्तावित बहुमुखी क्याम्पस, एक वटा सहकारी संस्था, दुई वटा मन्दिर, एक वटा गैर सरकारी संस्थाको जिम्मेवारी समाली रहेका छ्न भने १० वटा भन्दा बढी संघ संस्थाहरुको जिम्मेवारी समालेको उहाँले अनुभव बटुलेका छन । जहाँ रहन्छ्न तेहा असाध्यै मेहनत गर्ने, फरक कार्य सैलिबाट र अभिलेखिकरण सहित आफ्नो कार्य गर्ने भाटलाइ बिगत केही वर्ष यता देखि उच्च रक्तचाप देखिएको थियो ।
भाटसँगै तालिममा सहभागीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। सोही क्रममा स्वस्फूर्त रूपमा मकालु समूहका सहभागी र प्रशिक्षकहरूले रु. १५ हजारभन्दा बढी रकम संकलन गरी अस्पतालमै पुगेर आर्थिक सहयोग गरेको उहाँका आफन्तले जानकारी दिएका छन्।
के भन्छ्न त आर्थिक सहयोगका बारेमा भाट ?
“आफ्नो जिवनको झण्डै ४ दशक सामाजिक क्षेत्रमै लगाइयो, यस्तो समस्या आउला र होला भनेर कहिले सोचिएन पनि ? खै के भनौ? के भनौ भइरहेको छ। जसरी आज मलाई समस्या भयो धेरै आफन्त, साथिभाइ ईष्टमित्रहरु भेटन आइरहनु भएको छ, फोन, म्यासेज बाट र घरमा पुगेर पनि बुझ्ने कोशिश गरिरहनु भएको छ, सान्त्वना दिई रहनु भएको छ यहाँहरु सबैलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु ।
यदि कोहि कसै साथिभाइहरु जस्ले मेरो बारेमा राम्ररी बुझ्नु भएको छ, जस्ले मेरो जिवन बारे अध्ययन गर्न भएको छ यहाँहरुले स्वस्फूर्त रुपमा आर्थिक भौतिक नैतिक सहयोग गर्न चाहानहुन्छ भने म अस्विकार गर्दिन । सदै यहाँहरुकै साथ सहयोग आशीर्वाद र प्रेरणा लिएर बाचेको छु, अझै बाचुला भन्ने आस राखेको छु । हुनत सामाजमा म धेरै क्षेत्रको नेतृत्व गरे र अहिले पनि गरि रहेको छ । अधिकासंको बुझाइ र मेरो जीवन संघर्ष फरक छ । सबैले कहाँ बुझ्छ्न र……. ।
तै पनि मैले काम गर्ने गाउँठाँउ त्यो भुमी, तेहाको माटो, तेहाको हावा पानी र केही बुज्रुक बौद्धिक वर्गले अवश्य बुझ्ने छ्न भन्ने विश्वास राखेको छु ।“

















