हेटौँडा / हेटौँडा–४ का वडा अध्यक्ष नविन सिग्देले रजतजयन्ती सडक निर्माण कार्य चाँडै अगाडि बढाइने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सो सडकलाई हेटौँडा उपमहानगरपालिकाको नमुना सडक बनाउने उद्देश्यका साथ बजेटको स्रोत सुनिश्चित गरी प्रक्रियागत रूपमा काम अघि बढाइएको बताउनुभयो।
उहाँका अनुसार विभिन्न कारणले सडक निर्माण कार्यमा केही ढिलासुस्ती हुन पुगेको छ। समयमै गुणस्तरीय काम सम्पन्न हुनुपर्ने भए पनि अपेक्षाअनुसार काम अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ।
वडा अध्यक्ष सिग्देले जनप्रतिनिधिको तदारुकतामा कुनै कमी नरहेको बताउँदै जिम्मेवार निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयका प्रमुखसँग निरन्तर समन्वय गरी काम छिटो अघि बढाउन पहल भइरहेको जानकारी दिनुभयो।
उहाँले यसै हप्ताभित्र निर्माण कार्य अघि बढाउने प्रतिबद्धता प्राप्त भएको बताउँदै सडक निर्माणलाई तीव्रता दिन थप प्रयास जारी रहने उल्लेख गर्नुभएको छ।












