हेटौंडा/ जन्मदिन केवल उत्सव र मिठाईको अवसर मात्र होइन, सहानुभूति, मानवता र सेवा भावको उत्सव पनि हुन सक्छ भन्ने उदाहरण हेटौंडा १ का व्यवसायी किरण दुतराजले प्रस्तुत गर्नुभएको छ। हेटौंडा १० मा रहेको किरण एन्ड कस्मिर सुनचाँदी पसलका प्रोप्राइटर किरण दुतराजले आफ्ना छोरा कस्मिर दुतराजको २३औँ जन्मदिन वृद्धाश्रममा मनाउनु भयो।
हेटौंडा २, चौकी टोलस्थित ऊं वृद्धाश्रममा बस्ने २३ जना बृद्ध–बृद्धा आमा–बुबालाई खाना खुवाउँदै, किरण दुतराजले आफ्ना परिवारको खुशीलाई बाँड्दै समाजप्रति सकारात्मक योगदान दिनुभएको छ। विशेष रूपमा, १०२ वर्षका वृद्ध बुवा काजिलाल श्रेष्ठले छोरा कस्मिरलाई आशिर्बाद दिनु उपस्थित सबैका लागि भावविभोर क्षण बनेको थियो।
किरण दुतराजले जानकारी दिनुभयो कि आफ्नो परिवारको जन्मदिन र एनिभर्सरीको अवसरमा हरेक वर्ष यसैगरी वृद्धाश्रममा बस्ने आमा–बुबालाई सेवा गर्ने परम्परा उहाँले निरन्तरता दिँदै आउनुभएको छ। “यो छोटो भेट, यस सरल क्रियाले पनि बुढापाका आमा–बुबाको मुहारमा मुस्कान ल्याउँछ,” उहाँले भावनात्मक स्वरमा भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौंडा १ का वडा अध्यक्ष तथा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने उपस्थित रहनुभयो। अध्यक्ष न्यौपानेले भन्नुभयो, “घरमा तडक–भडक गरेर रमाइलो गर्नुभन्दा, यसरी समाजका सहारा बिहिन सदस्यहरूलाई खुसी दिने कार्य साँच्चिकै पुण्यको काम हो।”
कार्यक्रममा समाजसेवी हेटौंडा ११ सिमलटारका सुन्दर श्रेष्ठ लगायत अन्य स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेकाले यस मानवता र सेवा भावको कार्यक्रम अझ प्रभावकारी बनेको थियो। यसरी, कस्मिर दुतराजको जन्मदिन मनपर्ने उपहार होइन, स्नेह र सेवा भावको संदेश बनेर वृद्धाश्रममा साकार भएको छ।
















