हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चार्जिङ स्टेसनदेखि शक्ती टोल हुँदै ठुलोसुकौली जोड्ने सडक निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्थानीय पूर्वाधार विस्तार तथा जनजीवन सहज बनाउने उद्देश्यसहित सुरु गरिएको उक्त आयोजना वडाको महत्वपूर्ण विकास पहलका रूपमा लिइएको छ।
वडा अध्यक्ष सुनिल मोक्तानले सडक निर्माण कार्यको औपचारिक शिलान्यास गर्दै वडाको समग्र विकासलाई प्राथमिकतामा राखेर जनमुखी योजनाहरू निरन्तर अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय बासिन्दाको दीर्घकालीन आवश्यकता बुझेर पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको हो।
वडा अध्यक्ष सचिवालयका मनोज परियारका अनुसार प्रदेश सरकारको १३ लाख रुपैयाँ बजेट विनियोजनमार्फत उक्त सडक निर्माण कार्य अघि बढाइएको हो। सीमित स्रोत–साधनका बीच पनि वडाले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा विकास कार्य अघि बढाइरहेको उनले जानकारी दिए।
शिलान्यास कार्यक्रममा वडा सदस्य सिंह बहादुर लोको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयहरूले सडक निर्माण सुरु हुनु आफैंमा सकारात्मक कदम भएको बताउँदै यसले आवतजावत सहज बनाउनुका साथै कृषि, व्यापार तथा दैनिक जीवनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
वडास्तरमै योजनाबद्ध विकास, जनताको आवश्यकता अनुसार प्राथमिकता निर्धारण र कार्यान्वयनमा देखिएको सक्रियताले वडा अध्यक्ष मोक्तानको नेतृत्वमा हेटौंडा–१५ मा जनमुखी विकासले गति लिएको स्थानीयहरूको भनाइ छ। वडा अध्यक्ष मोक्तानले एकपछि अर्को विकास योजना अघि बढाउँदै जनताको प्रत्यक्ष लाभ हुने कार्यलाई तीव्रता दिँदै आएको बताइएको छ।
















