मनहरी–२ मा बाल समूह गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ अन्तर्गत ट्याङ्कीदमार टोल र दोभान टोलमा बाल समूहको बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम लिला माया तामाङ (मनहरी गाउँपालिका वडा नं. १, २, ३ र ४ का बालमैत्री सहजकर्ता) को उपस्थितिमा सञ्चालन गरिएको हो।

भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई सही मार्गमा अघि बढाउने तथा निर्धक्क रूपमा आफ्ना विचार व्यक्त गर्न सक्षम बनाउने उद्देश्यका साथ बाल समूह गठन अभियान अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रममा बालबालिकालाई आफ्नो परिचय प्रभावकारी रूपमा कसरी दिने भन्ने विषयमा अभ्यास गराइएको थियो।

वार्षिक परीक्षा सम्पन्न भएपछि प्राप्त भएको विदा समयलाई सदुपयोग गर्दै बालबालिकाको मनोविज्ञानमा सकारात्मक सोच र विचार विकास गराउन पाएकोमा सहजकर्ता लिला माया तामाङ ले खुसी व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा बालबालिकाको सहभागिता सुनिश्चित गर्न वडाबाट बजेट विनियोजन गरी सहयोग पुर्‍याएकोमा मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रीन लाई धन्यवाद व्यक्त गरिएको थियो। साथै बालबालिकालाई कार्यक्रममा सहभागी गराएकोमा अभिभावकहरूप्रति पनि आभार प्रकट गरिएको थियो।

कार्यक्रममा सहभागी स्थानीय युवा विद्यार्थी सूर्य बहादुर गोले ले आफ्नो अनुभव बाँड्दै बालबालिकालाई अभिभावक र गुरुजनप्रति इमानदार भई सत्मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो।